पनौतीका जनप्रतिनिधिले सवारी र अन्य सुविधा फिर्ता गरे


मेचीकाली

पनौती– काभ्रेको पनौती नगरपालिकामा रहेका जनप्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनको लागि आचारसंहिताको पालनाको लागि भन्दै आफुले पाउँदै आएको सेवा सुविधा नलिने घोषणा गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नगर प्रमुख भिमप्रसाद न्यौपाने, उपप्रमुख गिता बञ्जारा र वडा अध्यक्षहरुले बुधबारदेखि लागु हुने भन्दै आफुले पाउने सबै सेवा सुविधा फिर्ता गरेका हुन् । पनौती नगरपालिकाका नगर प्रमुख भिमप्रसाद न्यौपानेले मङ्गलबार बसेको कार्यपालिकाको बैठकले नगरपालिकाले जनप्रतिनिधिहरुलाई दिँदै आएको सबै सेवा, सुविधा नलिने निर्णय गरेअनुसार नगरपालिकाबाट लिँदै आएको सेवा सुविधा फिर्ता गरिएको बताउनुभयो । 

उहाँले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई दिँदै आएको सवारी सुविधा, तलब भत्ता, बैठक भत्तासमेत बुधबारदेखि लागु हुने गरि नलिने निर्णय गरिएको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालनाको लागि पनौतीका जनप्रतिनिधिहरुले आफुले लिँदै आएको सेवा सुविधा नलिने घोषणा गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधिले आचारसंहिताको उलङ्घन नहुने र काकुनी रुपले सम्पादन गर्नुपर्ने काम भने कार्यालयमा बसेर सम्पादन गरिने बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु