काभ्रे–संघीय सरकारले समयमै बजेट दिन नसकेपछि काभ्रेको रोशी गाउँपालिकाको प्रशासकीय भवन र आधारभुत अस्पतालको भवन निर्माण सम्पन्न हुन ढिलाई भएको छ ।
संघीय सरकारले सहयोग वापत उपलब्ध गराउनुपर्ने रकम निकाशामा ढिलाई गरेका कारण प्रशासनिक भवन र अस्पतालको भवन सम्पन्न गर्नुपर्ने समयावधि सकिँदा पनि भवन निर्माण सम्पन्न हुन नसकेको हो । संघीय सरकारको ६० प्रतिशत योगदान र रोशी गाउँपालिकाको ४० प्रतिशत योगदानमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अघि बढाइएको थियो । २०८१ असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी २०७८ मङ्सिर २८ गते प्रशासनिक भवन निर्माणको लागि कैशील बस्नेत÷कामख्या÷भगवती जेभीसँग सम्झौता भएको थियो । भवन निर्माणको लागि समयसिमा समाप्त हुँदा हालसम्म प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका इन्जिनियर भुपेन्द्र अधिकारीले जानकारी ििदए ।
निर्माणाधिन प्रशासनिक भवनमा गाउँपालिकाका नियमित कार्य सञ्चालन, कार्यपालिकाका लागि आवश्यक पर्ने बैठक कक्षसहित ३७ वटा कोठा रहने गरी ढिजाइन बनाइएको छ । भवन निर्माण वापतको तीन करोड ८७ लाख ५८ हजार ४३४ रुपियाँ निर्माण व्यवसायी कम्पनीलाई भुक्तानी गरिएको छ । निर्माण व्यवसायी कम्पनीसँग भवन निर्माणको लागि भ्याटसहित पाँच करोड ५६ लाख १४ हजार ६८४ रुपियाँमा सम्झौता गरिएको थियो ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि उपलब्ध गराउनुपर्ने रकम समयमा नै निकाशा गर्दा समयमा नै भवन निर्माणको काम सम्पन्न गर्न नसकिएको बताए । सङ्घीय सरकारले भवन निर्माणको लागि तीन करोड ३३ लाख ६८ हजार उपलब्ध गराउनुपर्नेमा आर्थिक वर्ष २०७८÷०७९ मा ६० लाख, आव २०७९÷०८० मा एक करोड र चालु आवमा ५० लाख रकम विनियोजन गरेको बताए
भवन निर्माणको काम सम्पन्न नहुँदा गर्मीमा समेत प्रि–फ्याबको साँघुरो कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । प्रशासनिक भवन निर्माणको काम समयमा नै सम्पन्न नहुने भएपछि जेठ २१ गते बसेको कार्यपालिकाको बैठकले भवन निर्माणको लागि आगामी पुस मसान्तसम्म लागि छ महिना म्याद थप गरेको छ ।
यसैबीच सङ्घीय सरकारले नै अघि सारेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा गाउँपालिकाको वडा नम्बर–१ खहरेपाँगुमा निर्माणाधिन दश शैय्याको अस्पताल निर्माणको काम समेत सम्पन्न हुन सकेको छैन । २०८१ जेठ मसान्तभित्र अस्पताल निर्माण सम्पन्न गर्नका लागि २०७७ चैत १३ गते सगुन धुलिखेल जेभीसँग निर्माण सम्झौता गरिएको थियो । शुक्रबारबाट अस्पताल निर्माणको समयसिमा सम्पन्न भएपनि हालसम्म अस्पताल निर्माणको काम ७० प्रतिशत मात्रै सम्पन्न भएको छ । छ करोड पाँच लाख रुपियाँमा अस्पताल निर्माणको लागि सम्झौता गरिएकोमा हालसम्म सङ्घीय सरकारबाट तीन करोड ५० लाख रुपियाँ मात्रै रकम प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
अस्पताल निर्माणको काम सम्पन्न नभएपछि जेठ २१ गते बसेको गाउँकार्यपालिकाको बैठकले पुस मसान्तसम्मको लागि म्याद थप गरेको छ । गाउँपालिकाले अस्पताल निर्माण वापतको एक करोड रुपियाँ भुक्तानीका लागि बिल पेश गरेको जनाएको छ ।