बनेपामा नसालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गर्ने गिरोह पक्राउ


बनेपामा नसालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गर्ने गिरोह पक्राउ
मेचीकाली , 

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा तथा आसपासका क्षेत्रमा सर्वसाधारणलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई सुनका गरगहना, मोबाइल तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुधबार सार्वजनिक गरेको प्रेस नोटअनुसार विभिन्न मितिमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भई फरार रहेका चार जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया सङ्गीता तामाङ (कार्की), धुलिखेल नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३८ वर्षीय बिर्खबहादुर तामाङ, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र नमोबुद्ध नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन्।

प्रहरीले सङ्गीता तामाङलाई २०८३ कात्तिक १५ गते बनेपाको चारदोबाटोबाट पक्राउ गरेको जनाएको छ। अन्य तीन जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको विवरणमा उल्लेख छ।


यसरी गर्थे लुटपाट

प्रहरीको अनुसन्धानअनुसार गिरोहले सर्वसाधारणलाई खानेकुरा वा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने, त्यसपछि बेहोस बनाएर उनीहरूले लगाएका सुनका गरगहना तथा साथमा भएका नगद र अन्य सामान लुट्ने गरेको खुलेको छ।

यसरी लुटपाट गरिएका गरगहनाहरू विभिन्न सुनचाँदी पसलमा बिक्री गर्ने तथा स्वरूप परिवर्तन गरेर कारोबार गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


चारवटा घटनाको विवरण

१. बनेपा–६ मा गङ्गा गुरुङ लुटिइन्

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई हाल बनेपा नगरपालिका–६ मा बस्दै आएकी ५४ वर्षीया गङ्गा बहादुर गुरुङलाई २०८३ भदौ २४ गते नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई लुटपाट गरिएको थियो।


घटनामा पीडित गुरुङको नगद ८ हजार रुपैयाँ र चारवटा राडी (कपडा) लुटिएको प्रहरीको विवरणमा उल्लेख छ। बेहोस अवस्थामा फेला परेकी उनलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। उनी अस्पतालको आईसीयूमा चार दिन उपचारपछि डिस्चार्ज भएकी थिइन्।


२. बनेपामा हिरामाया र हस्तबहादुरको घरमा लुटपाट

खानीखोला गाउँपालिका–४ घर भई हाल बनेपा नगरपालिका–४ मा बस्दै आएकी ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई २०८३ जेठ १० गते आफ्नै घरमा दूधमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो।

बेहोस बनाएपछि उनीहरूको घरबाट सुनको रिङ दुई थान र सुनको तिलहरी एक थान लुटेर लगिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनापछि हिरामायाको शिर मेमोरियल अस्पतालमा उपचार गरिएको र थप उपचारका लागि अल्का अस्पताल प्रालि जावलाखेलमा सात दिन उपचारपछि डिस्चार्ज गरिएको थियो। हस्तबहादुरको शिर मेमोरियल अस्पतालमा एक दिन उपचार गरिएको प्रहरीले जनाएको छ।


३. पनौतीका हेमबहादुर बस्नेत पनि लुटिए

पनौती नगरपालिका–४ घर भई हाल बनेपा नगरपालिका–३ मा बस्दै आएका ५१ वर्षीय हेमबहादुर बस्नेतलाई २०८३ भदौ २८ गते नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई लुटपाट गरिएको थियो।

उक्त घटनामा उनको साथबाट सुनको सिक्री एक थान, मोबाइल एक थान, सुनको औँठी एक थान र सुनको बाला एक थान लुटिएको प्रहरीको प्रेस नोटमा उल्लेख छ।


४. नमोबुद्धकी पञ्चमाया तामाङको सुनको औँठी लुटियो

२०८३ भदौ २३ गते दिउँसो करिब १ बजे नमोबुद्ध नगरपालिका–११ मा बस्दै आएकी ६७ वर्षीया पञ्चमाया तामाङ घरमै बसिरहेको अवस्थामा दुई जना महिला पुगेका थिए। उनीहरूले खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि कानमा लगाएको सुनको रिङ लुटेर लगेको प्रहरीले जनाएको छ।


सुनचाँदी पसलमा बिक्री गरेको खुलासा

प्रहरीले पीडितहरूसँगको समन्वय र प्राप्त प्रमाणहरूको विश्लेषण गर्दा घटनामा सङ्गीता तामाङ र बिर्खबहादुर तामाङको संलग्नता रहेको खुलेको जनाएको छ।

गङ्गा गुरुङ तथा हिरामाया जिम्बाको साथबाट लुटिएका गरगहनाहरू भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोस्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे विकलाई बिना रसिद बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै, पञ्चमाया तामाङको साथबाट लुटिएको सुनको गरगहना नमोबुद्ध नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने प्रविन सुनुवारले धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलका सञ्चालकलाई बिना रसिद बिक्री गरेको खुलेको छ।

पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि

प्रहरीका अनुसार पक्राउ परेकी सङ्गीता तामाङ र बिर्खबहादुर तामाङ यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।

२०८३ भदौ ३१ गते काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित काञ्छी तामाङलाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएर सुन तथा नगद चोरी गरेको घटनामा समेत उनीहरूको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। उक्त घटनामा पनि सङ्गीता तामाङ र बिर्खबहादुर तामाङको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सङ्गीता तामाङविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा चोरीसम्बन्धी मुद्दा चलेको र धरौटीमा छुटेको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ।

बिर्खबहादुर तामाङविरुद्ध पनि चोरी तथा डाँका मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको प्रहरीको प्रेस नोटमा उल्लेख छ।

नवराज घिमिरे विकले चोरीको सुनका गरगहना बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेर राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीविरुद्ध पनि यसअघि चोरीसम्बन्धी मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको विवरण सार्वजनिक गरिएको छ।

प्रविन सुनुवारको हकमा पनि चोरीको सुनका गरगहना खरिद गरी कारोबार गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रहरीले बरामद गरेका सामान

अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेकी सङ्गीता तामाङको साथ तथा कोठाबाट विभिन्न सामान बरामद गरेको जनाएको छ। बरामद सामानमा तीन ग्राम सेतो धुलो पदार्थ, घटनास्थलमा प्रयोग भएको कालो रङको दुई थान कीप्याड मोबाइल, एक थान भिभो मोबाइल, कालो खरानी रङको राडी, रातो–सेतो बुट्टा भएको कुर्थी, हरियो रङको सल, रातो कलरको ज्याकेट र टोमी जिन्स लेखिएको एक जोर लेडिज जुत्ता रहेका छन्।

त्यस्तै, नवराज घिमिरे विकको सुन पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाएर राखिएको अवस्थामा सुनजस्तो देखिने धातुका चार टुक्रा बरामद गरिएको छ। ती टुक्राहरूको तौल क्रमशः १२.२, ४२.७, २६.५ र १९.१ लाल रहेको प्रहरीले जनाएको छ।

प्रविन सुनुवारको सुन पसलबाट सुनजस्तो देखिने धातुबाट बनेको ११.६८ ग्राम तौलको एक थान रिङ पनि बरामद भएको छ।


 पीडितलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ परेका व्यक्तिहरूले अन्य स्थानमा समेत यसै प्रकृतिका घटना गराएको हुन सक्ने आशंका गरेको छ।

त्यसैले नसालु पदार्थ खुवाएर बेहोस बनाई गरगहना तथा नगद लुटपाटमा परेको तर प्रहरीमा जानकारी नगराएका पीडितहरूलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रहरीले प्राप्त प्रमाण, पीडितको बयान र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया



थप समाचारहरु