काभ्रे । बेथानचोक गाउँपालिका–४ खहरे खोलास्थित स्थानीय खानी क्षेत्रबाट बगेको ग्राभेल मिश्रित लेदो माटोले घर तथा गोठमा क्षति पुर्याएको छ।
शनिबार बिहान करिब ८ः४० बजे अविरल वर्षाका कारण खानी क्षेत्रबाट ग्राभेलसहितको लेदो माटो बगेर बस्तीमा पस्दा स्थानीयका घर तथा गोठमा क्षति पुगेको हो।
लेदो माटोले शेरबहादुर तामाङको ढुङ्गा–माटोले बनेको जस्तापाताको छानो भएको एकतले घर पूर्ण रूपमा पुरिएको छ। घरको छानोमा प्रयोग गरिएको जस्तापाता मात्र देखिने अवस्थामा पुगेको छ। सोही घरनजिकै रहेको ढुङ्गा–माटोले बनेको तीनतले घरमा समेत लेदो माटोसहितको पानी पसेको छ।
त्यसैगरी, हर्कबहादुर तामाङको ढुङ्गा–माटोले बनेको जस्तापाताको छानो भएको तीनतले घरमा पनि लेदो माटो मिश्रित पानी पसेर क्षति पुगेको छ। उनको घरनजिकै रहेको जस्तापाता र काठले बनेको गोठ भने पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
घटनामा मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ खोपासी प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै परिवारका आठ–आठ जना सदस्यलाई सुरक्षित स्थानमा रहेका आफन्तको घरमा स्थानान्तरण गरेको छ।
अविरल वर्षाका कारण खानी क्षेत्रबाट बगेको ग्राभेल तथा लेदो माटो बस्तीमा पस्दा स्थानीय जोखिममा परेका छन्।