एकतर्फी खुल्यो विपी राजमार्ग


एकतर्फी खुल्यो विपी राजमार्ग
मेचीकाली , 

काभ्रे । अविरल वर्षा र बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध राजमार्ग आइतबार साँझदेखि एकतर्फी (वानवे) सञ्चालनमा ल्याइएको हो ।

सडक डिभिजन भक्तपुरका इन्जिनियर शंकर खनालका अनुसार रोसी खोलामा आएको बाढीले राजमार्गका विभिन्न स्थानमा सडक कटान गर्नुका साथै सुख्खापहिरोमा लेदोसहितको पहिरो खसेपछि यातायात ठप्प भएको थियो ।

बाढीले कटुञ्जे घुमाउनेमा करिब ५० मिटर, पिप्लेमा ८० मिटर र गिम्दीबेंसीमा ५० मिटर सडक कटान गरेको छ । यस्तै, सुख्खापहिरो क्षेत्रमा सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेको थियो ।

शनिबार रातिदेखि वर्षा रोकिएपछि आइतबार बिहानैदेखि सडक खुलाउने काममा उपकरण तथा जनशक्ति परिचालन गरिएको थियो । दिनभरको प्रयासपछि साँझबाट सवारी आवागमन आंशिक रूपमा सञ्चालन गर्न सम्भव भएको इन्जिनियर खनालले जानकारी दिए । यसअघि २०८१ असोज दोस्रो साता रोसी खोलामा आएको विनाशकारी बाढीले भकुण्डेबेँसीस्थित १ नम्बर पुलदेखि सिन्धुलीको नेपालथोकसम्म विपी राजमार्गको करिब २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । उक्त क्षतिग्रस्त सडकको काभ्रेतर्फ चार र सिन्धुलीतर्फ एक गरी पाँच खण्डमा पुनर्निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया



थप समाचारहरु