ज्येष्ठ नागरिकको सपना साकार पार्दै बेथानचोकमा ८ करोडको धार्मिक पूर्वाधार, सहयोग जुटाउन भागवत महायज्ञ


ज्येष्ठ नागरिकको सपना साकार पार्दै बेथानचोकमा ८ करोडको धार्मिक पूर्वाधार, सहयोग जुटाउन भागवत महायज्ञ
मेचीकाली , 

गैरीभञ्ज्याङलाई वैष्णव धर्मावलम्बीको धार्मिक गन्तव्य बनाउने लक्ष्य, मन्दिर, गुरुकुल र धार्मिक वाटिका निर्माणलाई तीव्रता


काभ्रे । स्थानीय ज्येष्ठ नागरिकले वर्षौँदेखि देखेको धार्मिक क्षेत्र विकासको सपना साकार पार्ने उद्देश्यले काभ्रेको बेथानचोक गाउँपालिका–३ गैरीभञ्ज्याङमा करिब ८ करोड रुपैयाँको धार्मिक पूर्वाधार निर्माण अघि बढाइएको छ। लक्ष्मीनारायण मन्दिर परिसरलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित मन्दिरका लागि जग्गा खरिद, गुरुकुल भवन निर्माण र धार्मिक वाटिका स्थापना गर्ने योजना कार्यान्वयन भइरहेको हो।

धार्मिक पर्यटनको सम्भावना बोकेको गैरीभञ्ज्याङ क्षेत्रको विकासका लागि गाउँपालिका, प्रदेश सरकार, स्थानीयवासी र मन्दिर व्यवस्थापन समिति सक्रिय भएका छन्। धार्मिक पूर्वाधार निर्माणलाई गाउँपालिकाले गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। यसैक्रममा धार्मिक संरचना निर्माण तथा क्षेत्रको सर्वाङ्गीण विकासका लागि सहयोग जुटाउने उद्देश्यले मंसिर २३ देखि २९ गतेसम्म लक्ष्मीनारायण मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ।

महायज्ञ आयोजक मूल समारोह समितिले शनिबार पत्रकार सम्मेलन गरी सप्ताहव्यापी कार्यक्रमको तयारीबारे जानकारी दिएको हो। मंसिर २३ गते कलशयात्रासहित महायज्ञको उद्घाटन गरिनेछ। त्यसपछि सात दिनसम्म भागवत कथा प्रवचन, पाठपारायण, हवन तथा भजनकीर्तनलगायत धार्मिक अनुष्ठान सञ्चालन हुने आयोजकले जनाएको छ। १००८ स्वामी चक्रपाणी आचार्य प्रमुख वाचक रहने महायज्ञबाट मन्दिरका लागि आवश्यक जग्गा खरिद, निर्माणाधीन गुरुकुल भवनलाई पूर्णता र धार्मिक वाटिका निर्माणका लागि सहयोग जुटाउने लक्ष्य राखिएको छ।

लक्ष्मीनारायण गुरुकुल भवन निर्माण समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले धार्मिक क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई पूर्णता दिन महायज्ञ आयोजना गरिएको बताए। उनका अनुसार मन्दिर, गुरुकुल र धार्मिक वाटिका निर्माणलाई एकीकृत योजनाका रूपमा अघि बढाइएको छ।

लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद अधिकारीले २०७३ सालदेखि उक्त क्षेत्रमा नियमित रूपमा एकादशी महात्म्य सञ्चालन हुँदै आएको जानकारी दिए। लामो समयदेखि धार्मिक गतिविधि हुँदै आएको क्षेत्रलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिइएको उनले बताए।


७ करोड ६५ लाख खर्च, प्रदेश र गाउँपालिकाको सहकार्य

गाउँपालिका अध्यक्ष भगवान् अधिकारीका अनुसार गैरीभञ्ज्याङमा धार्मिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा हालसम्म ७ करोड ६५ लाख रुपैयाँ खर्च भइसकेको छ। जग्गा खरिददेखि निर्माणाधीन संरचना सम्पन्न गर्न विभिन्न चरणमा बजेट विनियोजन गरिएको उनले बताए। स्थानीय ज्येष्ठ नागरिकले लामो समयदेखि धार्मिक क्षेत्रको विकासका लागि पहल गर्दै आएको उल्लेख गर्दै अध्यक्ष अधिकारीले उनीहरूको सपना र स्थानीयवासीको मागलाई सम्बोधन गर्न योजनाबद्ध रूपमा काम अघि बढाइएको बताए।

‘स्थानीय ज्येष्ठ नागरिकको चाहना र स्थानीयवासीको मागलाई सम्बोधन गर्दै धार्मिक पूर्वाधार निर्माणलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अगाडि बढाएका छौँ,’ अध्यक्ष अधिकारीले भने, ‘बेथानचोकमा धार्मिक पर्यटनको सम्भावना भएकाले त्यसलाई उपयोग गर्न आवश्यक संरचना तयार पार्न लागेका हौँ।’ विपद्बाट प्रभावित गाउँपालिकामा धार्मिक पर्यटनका पूर्वाधार निर्माणले स्थानीयवासीमा नयाँ ऊर्जा र आशा जगाउने विश्वास व्यक्त गर्दै उनले स्थानीयको सामूहिक प्रयासमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।


धार्मिक पर्यटनसँगै सामाजिक एकताको लक्ष्य

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले धार्मिक संरचना निर्माणले धार्मिक सहिष्णुता, सामाजिक एकता र सामूहिक सहभागिता बढाउने बताइन्। स्थानीयवासीको एकता र सहकार्यबाट ज्येष्ठ नागरिकले परिकल्पना गरेको मन्दिर, गुरुकुल र धार्मिक वाटिका निर्माणको लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ।

बेथानचोक–३ का वडाध्यक्ष कुबेर ढकालले गैरीभञ्ज्याङ क्षेत्रलाई वैष्णव धर्मावलम्बीको धार्मिक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताए। धार्मिक पूर्वाधार निर्माणले स्थानीय क्षेत्रमा धार्मिक गतिविधि बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उनको विश्वास छ। मन्दिर संरक्षण समितिका उपाध्यक्ष कुमार घिमिरेले धार्मिक संरचनाको विकाससँगै यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा व्यक्त गरे। धार्मिक तथा सांस्कृतिक गतिविधि विस्तार हुँदा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले सनातन धर्मको संरक्षण र गुरुकुल निर्माणमा समितिले गरेको सक्रियताको प्रशंसा गर्दै सञ्चार क्षेत्रबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए। महासंघका पूर्वअध्यक्ष मोतिराम तिमल्सिनाले गाउँपालिकाले विभिन्न क्षेत्रलाई महत्व दिएर सामाजिक विकासमा योगदान पुर्‍याएको बताए।

स्थानीय ज्येष्ठ नागरिकको परिकल्पनाबाट सुरु भएको गैरीभञ्ज्याङको धार्मिक क्षेत्र विकास अभियान अहिले सरकारी लगानी, स्थानीय सहभागिता र धार्मिक गतिविधिसँग जोडिएको छ। मन्दिर, गुरुकुल र धार्मिक वाटिकाको निर्माण सम्पन्न भएपछि यस क्षेत्रलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया



थप समाचारहरु