काठमाडौ– लागु औषध नियन्त्रण ब्युरोले एक किलो एक सय ग्राम लागु औषध (कोकिन) सहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले लागु औषधको कारोबारमा संलग्न रहेको आरोपमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नासिमुद्दिन अन्सारी र ४४ वर्षीय नाइजेरिया नागरिक इकेचुकवा सिरिल ओबोडोइफुलालाई पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । पक्राउ परेका भारतीय नागरिक अन्सारी साउन १ गते इण्डिगो एयरलायन्सबाट मुम्बईहुँदै नेपाल आएका थिए ।
ब्युरोको टोलीले ठमेलस्थित एक होटलबाट जुसको दुई वटा बट्टाभित्र कोकिनका ६२ वटा क्याप्सुल लुकाई छिपाई राखको अवस्थामा पक्राउ गरेको हो । उनीबाट बरामद गरेको कोकिन एक किलो एक सय ग्राम रहेको सूचना अधिकारी शाहीले बताउनुभयो । पक्राउपछि भारतीय नागरिक अन्सारीले आफुसँग भएको उक्त कोकिन काठमाडौँ पिङ्गलस्थानस्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबोडोइफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी नायव उपरीक्षक शाहीले बताउनभुयो ।
नाइजेरियन नागरिक ओबोडोइफुला साउन १ गते कतार एयरलाइन्सबाट नेपाल आएका थिए । पक्राउ परेका नाइजेरियन नागरिकले उक्त कोकिनका क्याप्सुलहरु कतारको दोहाबाट ज्याकेटभित्र लुकाइछिपाई नेपाल ल्याएको र नेपाल आएपछि पिङ्गलस्थानको होटलमा जुसको बट्टाभित्र लुकाइछिपाई गरेको खुल्न आएको छ । बरामद गरिएको लागु औषध कोनिको अबैध बजार मूल्य करिब तीन करोड ८५ लाख बराबरको रहेको छ । पक्राउ परेका दुवै विदेशी नागरिकलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।