काभ्रे– सरकारले लिएको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लक्ष्य अनुरुप काभ्रेको काभ्रेको मण्डनदेउपुर नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा रहेको गैरीचौरमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा साविक गैह्रीबिसौना गाविस–३ (हाल मण्डनदेउपुर ६) मा रहेको कित्ता नम्बर ४४७, ५२३ र ५२४ को करिब दुई सय रोपनी जमिनमध्ये हाल ७० रोपनी क्षेत्रफलमा ग्रामको लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले आर्थिक वर्ष २०७७÷०७८ को बैशाख महिनादेखि प्रदेश सरकारको सहयोगमा ग्राम निर्माणको काम सुरु भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ५० लाख रुपियाँमध्ये ७७ लाख रुपियाँको काम भएको बताउनुभयो । ‘प्रदेशबाट प्राप्त रकमबाट ग्रामको लागि छुट्याइएको जग्गामध्ये ७० रोपनी जमिनमा तारबार लगाउने, दुई कोठे पाले घर निर्माण र जग्गाको बनोट अनुसार जग्गा सम्याउने काम सम्पन्न गरेका छौँ उद्योग अधिकृत पुडासैनीले थप्नुभयो । उहाँले औद्योगिक ग्राम निर्मणको लागि नगरपालिकाले गैरीचौरमा रहेको ७७१ रोपनी जग्गा उपलब्ध गराएको बताउनुभयो । उहाँले प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ग्राम निर्माण गर्न पचास लाख रुपियाँ रकम विनियोजन गरेको बताउँदै उक्त रकमले ग्रामको लागि उपलब्ध भएको जग्गा सम्याउने काम गरिने बताउनुभयो । उहाँँले प्रदेश सरकारले गत वर्षको तुलनामा यस वर्ष बजेट कम राखेका कारण नगरपालिकाले ग्राम निर्माणको कामलाई तिव्रता दिनको लागि बहुवर्षिय योजनामा समावेश गर्न माग गरेको बताउनुभयो ।
‘नगरपालिकाले हाल बनिरहेको क्षेत्रलाई तीन सय रोपनीमा बिस्तार गरी बहुवर्षिय योजनामा समावेश गरी ग्रामको लागि आवश्यक पूर्वाधारको काम सम्पन्न गर्न आग्रह भएकोले प्रदेश सरकारलाई जानकारी गराएका छौँ’ उहाँले थप्नुभयो । उहाँले मण्डनदेउपुरमा निर्माण भईरहेको औद्योगिक ग्राममा एक सयदेखि दुई सय वटासम्म उद्योग स्थापना गर्न सकिने बताउनुभयो । उहाँले उक्त औद्योगिक ग्राम नेपालमा नै धेरै क्षेत्रफल रहेको ठुलो औद्योगिक ग्राम हुने दावी गनुर््भयो । उहाँले ग्रामको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) मा सम्पूर्ण काम पुरा गर्नको लागि करिब १८ करोड रुपियाँ खर्च हुने उल्लेख रहेको बताउनुभयो । उहाँले ग्रामको ७० रोपनी जमिनमा तारबार लगाउने, पाले घर निर्माण र जग्गा सम्याउने काम राज कन्स्ट्रक्सन प्रालिले गरेको बताउनुभयो ।
काभ्रे उद्योग बाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेले मण्डनदेउपुर नगरपालिकामा निर्माण भईरहेको औद्योगिक ग्रामको काम सम्पन्न भएपछि थुप्रै नागरिकले रोजगारी पाउने बताउनुभयो । उहाँले ग्राममा स्थापना हुने व्यवसाय हेरेर सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले ग्राम निर्माण सुरु भएको स्थानमा सयौँ रोपनी जमिन भएकोले ठुलाठुला उद्योगहरु स्थापना गरेर औद्योगिक क्षेत्रको रुपमा विकास गरी सोही अनुसारको सडक समेत निर्माण गर्नुपर्ने बताउनुभयो । सङ्घीय सरकारको सहयोगमा जिल्लाको पााँचखाल नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरपालिका औद्योगिक ग्राम निर्माणको काम भईरहेको छ ।