बनेपामा ‘बृहत कृषि महोत्सव’ हुने


मेचीकाली

बनेपा– जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण गरी कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लामा ‘बृहत कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा जिल्लाको बनेपामा बृहत कृषि महोत्सवको आयोजना गरिने भएको हो । 

केही दिन अघि भएको सरोकारवाला बैठकले आगामी फागुन ४ देखि ७ गतेसम्म बृहत कृषि महोत्सव आयोजना गर्ने विषयमा छलफल गरेको कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतमले बृहत कृषि महोत्सवले कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने बताउनुभयो । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायतका स्थानीय कृषि उपज तथा उत्पादनहरु समावेश गरिने ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो । उहाँले महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारहरु समेत समावेश गर्न सकिने बताउनुभयो । यस्तै उत्पादन र प्रशोधनसँग सम्बन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामाग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु स्टलको रुपमा राख्न सकिने दवाडीले बताउनुभयो । 

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरुका रैथाने प्रविधिहरुको प्रर्दशन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरुको विक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ । महोत्सवका लागि करिब ६५ लाख रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । महोत्सवबाट कम्तिमा एक सय वटा व्यवसायिक फर्महरु स्थापना हुने, बेरोजगार युवाहरु व्यवसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजहरुको बजारीकरण भई आयमा बृद्धि हुने, उन्नत एवं हाईब्रीड जातको बीउको प्रयोग तथा उत्पादनमा बृद्धि, विदेशबाट फर्केका युवाहरुको कृषितर्फ आकर्षण एवं व्यवसायिकतामा अभिबृद्धि हुने अपेक्षा आयोजकको रहेको छ । 


प्रतिक्रिया



थप समाचारहरु