पाँचखाल–काभ्रेको पाँचखालमा केन्द्रीय कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वषए २०८१/८२ को अर्ध वार्षिक समिक्षा बैठक आज बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्व तथा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवा केन्द्र व्यवस्थापन समिति, विभिन्न उप समितिहरु तथा व्यवस्थापन÷कर्मचारीहरु को उपस्थिति थियो । संस्थाका सचिव राम प्रसाद कोइरालाले संचालन गरेकोे कार्यक्रममा संस्थाका संचालक सदस्य विष्णु प्रसाद पराजुलीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाको आ.व २०८१/८२ पौष मसान्त सम्मको स्थिति विवरण सहित संस्थाको रणनैतिक योजना बमोजिम लिएका लक्ष्यहरुमा भएका उपलव्धि सहितको समीक्षा प्रतिवेदन तथा आगामाी योजना तथा बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष सुन्दर तामाङले वित्तिय रुपमा सवल र सक्षम रहेको आर्थिक विकासले सदस्यहरुलाई आर्थिक कारोवारमा मात्र नभई सदस्यहरुको स्वास्थ्य तथा जन्म देखि मृत्यु पर्यन्त राहत लगायतका कार्यक्रम गरी सदस्यहरुलाइ सक्रिय राखेको र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समेत अग्रणी रहेको बताए । संस्थाका निवर्तमान अध्यक्ष सरोज सापकोटाले संस्थाले सदस्यलाई केन्द्रमा राखेर गरिएका सबै कार्यहरु सफल हुने बताए । त्यस्तै लेखा संयोजक बद्रि आचार्यले सम्पूर्ण सरोकारवालाहरु आफ्नो भुमिकाप्रति जिम्मेवार रहि कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष इश्वरी राजकुमार मैनालीले संस्थाको गुणात्मक परिणाम भन्दा पनि गुणस्तर परिणाममा जोड दिदै प्रोत्साहन तथा पुरस्कारद्धारा सदस्य सक्रियतादर बढाउनुपर्ने विचार व्यक्त गरे । संस्थाका सल्लाहकार रामशरण लुइटेलले लक्ष्य प्राप्तीका लागि सबैमा समन्वयकारी भुमिका राख्दै विभिन्न कार्यदल बनाइ काम गर्नुपर्ने धारणा राखे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले विद्यमान सहकारी सम्बन्धि समस्याका असर लगायत कानुनी जटिलता र ऐनमा आएका परिवर्तनमा विषयमा धारणा राखे । कार्यक्रमममा अध्यक्ष बाबुकाजी पराजुलीले संस्थाले सदस्य बृद्धि, पुँजी परिचालन, सदस्य सक्रियता तथा सदस्य सुरक्षा र हेरचाहका विषयमा भए गरेका कार्यक्रमहरुको समिक्षा गर्दैै आगामी योजना तथा बजेटमा विषयमा सबै एक भएर लाग्नुपर्ने बताएका थिए ।