काभ्रेमा संघीय सरकारको ९३ प्रतिशत बजेट खर्च, कुन कार्यालयको खर्च कति ?


मेचीकाली

काभ्रे– तीन तहका सरकारमध्ये माथिल्लो तहको सरकार अर्थात् संघीय सरकारले काभ्रेका लागि पठाएको बजेटको झण्डै ९३ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८० ८१ मा काभ्रे जिल्लाका विभिन्न कार्यालयमा चालु र पूँजीगत गरी कुल १२ अर्ब ८३ करोड ७१ लाख छ हजार ५२४ रुपियाँ विनियोजन भएको थियो । 

विनियोजित बजेटमध्ये ९२ दशमलव ४ प्रतिशत अर्थात् ११अर्ब ८७ करोड सात लाख ३७ हजार ९६७ रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सरकारले जिल्लामा चालुतर्फ १० अर्ब २१ करोड ८० लाख ३९ हजार ३१४ रुपियाँ विनियोजन गरेकोमा नौ अर्ब ४१ करोड ५७ लाख ८७ हजार ६३४ (९२ प्रतिशत) रुपियाँ खर्च भएको थियो । 

कोलेनिका काभ्रेपलाञ्चोकका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले गत आवमा सङ्घीय सरकारले जिल्लामा पूँजीगततर्फ दुई अर्ब ६१ करोड ९० लाख ६७ हजार २१० रुपियाँ विनियोजन गरेकोमा असार मसान्तसम्म ९३ दशमलव ७३ प्रतिशत अर्थात् दुई अर्ब ४५ करोड ४९ लाख ५० हजार ३३३ रुपियाँ खर्च भएको बताउनुभयो । उहाँले सङ्घीय सरकारमार्फत जिल्लामा विनियोजन भएको पूँजीगत बजेटमध्ये सबैभन्दा बढी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिले ९७ दशमलव २५ प्रतिशत बजेट खर्च गरेको छ । 

प्रतिरक्षा विश्वविद्यालयका लागि ५५ करोड रुपियाँ बजेट विनियोजन भएकोमा ५३ करोड ४९ लाख चार हजार ५२० रुपियाँ बजेट खर्च भएको छ । यस्तैगरि सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–वर्दिवास सडक आयोजनाले कुल पूँजीगत बजेटको ९४ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ । उक्त सडक आयोजनाका लागि एक अर्ब ८४ करोड सात लाख ७५ हजार बजेट विनियोजन भएकोमा एक अर्ब ७४ करोड सात लाख ९६ हजार ९५० रुपियाँ खर्च, काभ्रेपलाञ्चोक जिल्ला अदालतका लागि पूँजीगततर्फ ४५ लाख विनियोजन भएकोमा ६५ प्रतिशत अर्थात् २९ करोड ३९ लाख ५२८ रुपियाँ खर्च भएको छ ।

 त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयका लागि पूँजीगततर्फ ५३ लाख ३० हजार बजेट विनियोजन भएकोमा ६४ दशमलव ६ प्रतिशत अर्थात् ३४ लाख ४६ हजार ३९९ रुपियाँ खर्च भएको कोलेनिका काभ्रेपलाञ्चोकले जनाएको छ । सङ्घीय सरकारले जिल्लामा रहेका १३ वटा स्थानीय तहसहित कूल ५३ वटा कार्यालयका लागि बजेट विनियोजन गरेको थियो । 


प्रतिक्रिया



थप समाचारहरु