काभ्रेमा विकास बजेट : प्रदेशको ५ र संघको ११ प्रतिशत खर्च


मेचीकाली

काभ्रे–काभ्रेमा विनियोजन भएको विकासबजेटमा प्रदेश सरकारको तुलनामा संघीय सरकारले पठाएको बजेट धेरै खर्च भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकको अन्तिमसम्म जिल्लामा प्रदेश सरकारद्धारा विनियोजित बजेट भन्दा सङ्घीय सरकारबाट विनियाजन भएको पूँजीगत बजेट धेरै खर्च भएको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिक (कात्तिक २९ गते) बिहिबारसम्म जिल्लामा प्रदेश सरकारबाट विनियोजन भएको पूँजीगत बजेटको पाँच (५)प्रतिशत र सङ्घीय सरकारबाट विनियोजन भएको पूँजीगत बजेटको ११ प्रतिशत बजेट खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) काभ्रेपलाञ्चोकका कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले चालु आर्थिक वर्षमा पहिलो चौमासिक अन्र्तगत बिहिबारसम्म सङ्घीय सरकारबाट विनियोजन भएको कुल पूँजीगत बजेटमध्ये ११ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले चालु आवमा सङ्घीय सरकारमार्फत जिल्लामा दुई अर्ब ४५ करोड ६२ लाख ३६ हजार पूँजीगत बजेट विनियोजन भएकोमा हालसम्म ११ प्रतिशत अर्थात् २७ करोड २१ लाख ३६ हजार ४४८ रुपियाँ खर्च भएको बताउनुभयो । 

कोष नियन्त्रक तिमल्सिनाले बिहिबारसम्म सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको २४ करोड ७१ लाख ८१ हजार ९८५ रुपियाँ, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले एक करोड ७६ लाख २९ हजार ९०३ रुपियाँ, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको २१ लाख २९ हजार ८४ रुपियाँ, जिल्ला हुलाक कार्यालयको ११ लाख ४९ हजार आठ सय रुपियाँ पूँजीगत खर्च भएको छ । 

कोलेनिका काभ्रेपलाञ्चोकले बिहिबारसम्म जिल्लामा सङ्घीय सरकार अन्र्तगत रहेका कार्यालयहरुको चालु आर्थिक वर्षको चालु बजेटतर्फ २८ प्रतिशत बजेट खर्च भएको जनाएको छ । चालु आवमा जिल्लामा सङ्घीय सरकारले चालु बजेटतर्फ नौ अर्ब ६५ करोड ९२ लाख ४४ हजार ७८४ रुपियाँ विनियोजन गरेकोमा हालसम्म दुई अर्ब ६९ करोड ५७ लाख २४ हजार ३१४ रुपियाँ खर्च भएको छ । यस्तै प्रदेश कोष लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोकका लेखा अधिकृत जनकबहादुर खड्काले प्रदेश सरकार अन्र्तगत जिल्लामा विनियोजन भएको कुल पूँजीगत बजेटमध्ये बिहिबारसम्म ५ दशमलव ३९ प्रतिशत बजेट मात्रै खर्च भएको बताउनुभयो । उहाँले यस आवमा जिल्लामा प्रदेश सरकारमार्फत तीन अर्ब आठ करोड ४८ लाख ४५ हजार रुपियाँमध्ये हालसम्म १६ करोड ६४ लाख ६२ हजार ३३२ रुपियाँ मात्रै पूँजीगत बजेट खर्च भएको बताउनुभयो । 

लेखा अधिकृत खड्काले हालसम्म प्रदेश सरकार अन्र्तगतको पूर्वाधार विकास कार्यालयले १२ करोड ४९ लाख ६० हजार ९१८ रुपियाँ, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयले एक करोड १३ लाख ९१ हजार ८९३ रुपियाँ, सामाजिक विकास कार्यालयले ४९ लाख २४ हजार ७४० रुपियाँ, सहरी विकास तथा भवन कार्यालयले एक करोड दुई लाख १२ हजार १९२ रुपियाँ पूँजीगत खर्च गरेको बताउनुभयो । यस्तै यातायात व्यवस्था कार्यालयले ५७ लाख ३६ हजार ३७८ रुपियाँ, कृषि विकास कार्यालयले ५४ लाख ४७ हजार २१७ रुपियाँ खर्च गरेको छ । चालु आवमा प्रदेश सरकारले जिल्लामा चालु बजेटतर्फ २० अर्ब ३१ करोड ७१ लाख छ हजार चालु बजेट विनियोजन गरेमा हालसम्म १६ दशमलव ५ प्रतिशत अर्थात् ३३ करोड ६९ लाख ८७ हजार ८९२ रुपियाँ खर्च भएको छ । लेखा अधिकृत खड्काले पहिलो चौमासिकमा कार्यालयले आयोजनाहरुको लगत स्टिमेट तयार गर्ने, बोलपत्र आह्वानको प्रकृया सुरु गर्ने र साना साना आयोजनाको काम मात्रै हुने भएकोले पहिलो चौमासिकमा कार्यालयको पूँजीगत बजेट कम खर्च हुने बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु