काभ्रेमा साढे ६ महिनामा २० प्रतिशतमात्रै विकास बजेट खर्च


मेचीकाली

बनेपा-समयमै विकास बजेट खर्च नहुने समस्या काभ्रेपलाञ्चोकमा चालू आर्थिक वर्षमा पनि देखिएको छ । आर्थिक वर्षको अन्तिममा मात्र खर्च हुने प्रचलन यसपटक पनि दोहोरिने देखिएको छ 

आर्थिक वर्ष सुरु भएको साढे महिनाको अवधिमा काभ्रेपलाञ्चोक जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि सङ्घीय सरकार र प्रदेश सरकारले विनियोजन गरेको विकास (पूँजीगत) बजेटमध्ये २० प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको हालसम्म सङ्घीय सरकारले जिल्लामा विनियोजन गरेको कुल पूँजीगत बजेटमध्ये २३ दशमलव ४ प्रतिशत र प्रदेश सरकारले विनियोजन गरेको पूँजीगत बजेटमध्ये १६ दशमलव २ प्रतिशत पूँजीगत बजेट खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी कोष नियन्त्रक चर्तुभुज तिमल्सिनाले चालु आवको हालसम्म जिल्लामा सङ्घीय सरकारले विनियोजन गरेको पूँजीगत बजेटको २३ दशमलव ४ प्रतिशत र चालु बजेटतर्फ कूल बजेटको ५२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले सङ्घीय सरकारतर्फ सुर्यविनायक–धुलिखेल सडक आयोजनाले ४२ प्रतिशत, जिल्ला हुलाक कार्यालयले ६७ प्रतिशत, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले २० प्रतिशत र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले ९ दशमलव ४३ प्रतिशत पूँजीगत बजेट खर्च गरेको बताउनुभयो । सडक आयोजनाले एक अर्ब २५ करोड छ लाख पूँजीगत बजेटमध्ये हालसम्म ५२ करोड ५९ लाख १५ हजार नौ सय, भूमि व्यवथापनले एक करोड पाँच २५ हजारमध्ये २१ लाख २९ हजार ८४ रुपियाँ पूँजीगत बजेट खर्च गरेको छ । त्यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले एक अर्ब पाँच करोड ३४ लाख रुपियाँमध्ये तीन करोड ९८ लाख ११ हजार ९९२ रुपियाँ र हुलाक कार्यालयले २३ लाख ७० हजार पूँजीगत बजेटमध्ये १५ लाख ९२ हजार १४२ रुपियाँ खर्च गरेको छ ।

चालु आवका लागि सङ्घीय सरकारले चालु तर्फ नौ अर्ब ६९ करोड ४९ लाख पाँच हजार ६० रुपियाँ र पूँजीगततर्फ दुई अर्ब ५१ करोड सात लाख ७४ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । हालसम्म सङ्घीय सरकार अन्र्तगतको चालुतर्फ पाँच अर्ब चार करोड ५६ लाख ७० हजार ५७६ रुपियाँ र पूँजीगततर्फ ५८ करोड ८५ लाख १८ हजार ८२ रुपियाँ खर्च भएको छ ।

यस्तै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक बिनोद प्रधानले प्रदेश सरकार अन्र्तगत जिल्लामा विनियोजन भएको पूँजीगत बजेटमध्ये हालसम्म १६ दशमलव २ प्रतिशत बजेटमात्रै खर्च भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले विनियोजन गरेको चालु बजेटतर्फ भने ३२ दशमलव ५ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले चालु आवका लागि प्रदेश सरकारले चालुतर्फ दुई अर्ब तीन करोड १८ लाख चार हजार र पूँजीगततर्फ तीन अर्ब १० करोड ८३ लाख ४५ हजार बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले विनियोजन गरेकोमध्ये हालसम्म चालुतर्फ ६६ करोड १४ लाख १३ हजार २० रुपियाँ र पूँजीगततर्फ ५० करोड ३७ लाख ३१ हजार ८३० रुपियाँ बजेट खर्च भएको प्रमुख कोष नियन्त्रक प्रधानले बताउनुभयो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले हालसम्म जिल्लामा प्रदेश सरकार अन्र्तगत रहेको पूर्वाधार विकास कार्यालयले १७ प्रतिशत, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयले २१ प्रतिशत, सामाजिक विकास कार्यालयले १८ प्रतिशत, शिक्षा तालिम केन्द्रले २७ प्रतिशत, सहरी विकास तथा भवन कार्यालयले सात र भूमिगत जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयले ४ प्रतिशत पूँजीगत बजेट खर्च गरेको जनाएको छ । 

कार्यालयका अनुसार पूर्वाधार विकास कार्यालयले ३५ करोड २९ लाख ८७ हजार ९२६ रुपियाँ, सिञ्चाई डिभिजनले पाँच करोड ३७ लाख हजार ९९ हजार २२४ रुपियाँ, सामाजिक विकासले दुई करोड ६५ लाख १७ हजार ४१ रुपियाँ, शिक्षा तालिम केन्द्रले १८ लाख ६३ हजार ६७९ रुपियाँ पूँजीगत बजेट खर्च गरेको छ । त्यस्तै सहरी विकासले चार करोड ५९ लाख १४ हजार ५७५ रुपियाँ र भूमिगत जलस्रोतले २७ लाख ७० हजार ९९१ रुपियाँ पूँजीगत बजेट खर्च गरेको छ । प्रदेश प्रमुख कोष नियन्त्रक प्रधानले योजनाहरुको काम सम्पन्न भएपछि मात्रै योजनाको सबै भुक्तानी गरिने भएकोले काम भईरहेको समयमा आर्थिक प्रगती कम देखिने गरेको बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु