सामूदायिक साकोसको स्थापना र एकीकरण दिवस, सहकारी ऐन संशोधन गर्ने प्रदेशमन्त्रीको बाचा


मेचीकाली

पनौती–पनौती–४ मा मुख्यालय रहेको सामूदायिक बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमसहित आफ्नो ३० औं स्थापना दिवस मनाएको छ । 

२०५१ साल माघ १४ गते स्थापना भएको सहकारीले आजैको दिनलाई एकीकरण दिवसको रुपमा समेत मनाउन थालेको छ । हालसम्म १७ वटा सहकारी एकीकरण गरेको संस्थाले पछिल्लोपटक ज्योति बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण गरेको थियो । एकीकृत कारोबार सुरु भएसँगै एकीकरण दिवस पनि स्थापना दिवसकै दिन मनाउन थालिएको संस्थाले जनाएको छ । 

बागमति प्रदेशका संस्कृति पर्यटक तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना तथा एकीकरण दिवस समारोहमा रक्तदानका साथै पूर्व सञ्चालक, जेष्ठ शेयर सदस्य, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा मन्त्री महर्जनले केही खराबर सहकारीका कारण राम्रो सहकारीसमेत मारमा परिरहेको बताए । केही खराब सहकारी संस्थाका कारण राम्रो सहकारीप्रति पनि अविशस बढिरहेको भन्दै उनले भने, ‘मेरो रकम जोखिममा पर्छ कि भनेर राम्रो सहकारीका बचतकर्तासमेत निक्षेप फिर्ता लिन थालेका छन् । झण्डै डेढ दर्जन संस्था एकीकरण भएको सामूदायिक सहकारीको सफलताले सहकारीको समस्या समाधानका लागि एकीकरण पनि एउटा राम्रो माध्यम हुनसक्ने र मन्त्रालयले नीति बनाउँदा त्यसमा ध्यान दिने मन्त्री महर्जनले बताए । सहकारीहरुका समस्या समाधानका लागि मन्त्रालय चिन्तित रहेको बताउँदै महर्जनले समस्या समाधानका लागि ऐन संशोधनको तयारीमा लागेको पनि बताए । संघले ऐन संशोधन नगरे पनि प्रदेश सरकारले ऐन संशाधन गर्ने बचन उनले दिए ।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पछिल्लो समय कतिपय सहकारीमा बिचलन आएको बताउँदै संस्थाका शेयर सदस्यहरुले संस्थाको काम कार्बाही पारदर्शी बनाउन हरेक क्रियाकलापको जानकारी लिने गर्नुपर्ने बताए । पनौती नगरभित्र रहेका सहकारीमा देखिने गरी समस्या नदेखिएको तथा अन्यत्र कार्यालय रहेर पनौतीमा बचत संकलन गर्ने कतिपय संस्थामा समस्या देखिएको र नगरबासी पीडित भएको उनले बताए । संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्य मानन्धरले स्वागत मन्तव्य राख्दै देशकै नमुना र असल सहकारी बनाउने अभियानमा निरन्तर क्रियाशिल हुने बताए । 

सचिव मुकुन्द शर्मा वाग्लेले सञ्चालन गरेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन वस्नेतले संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले संस्थाको वासलात ६ अर्ब ९ करोड ९६ लाख ७८ हजार २ सय ३ रुपैयाँ रहेको, ४७ करोड ४४ लाख ५२ हजार ४ सय शेयर पूँजी रहेको, ४ अर्ब २९ करोड ६९ लाख १ हजार ६ सय ९० रुपैयाँ बचत संकलन गरी ४ अर्ब ४२ करोड ६४ लाख २२ हजार ५ सय ६२ रुपैयाँ ऋण लगानी रहेको उनले बताए ।

कार्यक्रममा सचीतीर्थ त्रिवेणीधाम गुरुकुल पनौतीलाई स्टेशनरी सामग्रीसहित चन्दा संकलन गर्ने दानपत्र पनि हस्तान्तरण गरिएको थियो ।  कार्यक्रममा १९ वटा सेवा केन्द्रमध्ये उत्कृष्ट हुन सफल ग्रामिण स्वावलम्वन सेवा केन्द्र पाँचखाल १२ का साथै धुनदेवी नमोबुद्ध सेवा केन्द्रका कर्मचारी सुदर्शन चिमौरियालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा सामूदायिक साकोसको विशेष बुलेटिन बिमोचन गरिनुका साथै सामूदायिक उपदान बचत योजना सुरु भएको घोषणासमेत गरिएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु