पनौती–काभ्रेकै ठूलो सहकारी संस्था सामूदायिक बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत सञ्चालक सदस्य पदमा उम्मेदवारी दिएका ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध सञ्चालक समिति चयन भएको हो । सञ्चालकमा उम्मेदवारी दिएका राजकुमार तिमल्सिना, रविन्द्रनाथ वाग्ले, बिमला पौडेल, बाबुराम कोइराला, मुक्तिनाथ तौजले र मुकुन्दप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् । यसअघि नै सञ्चालक समितिका पदाधिकारी र महिला तथा जनजाति र दलित सदस्य निर्विरोध भएका छन् ।
सामूदायिक साकोसको अध्यक्षमा मुकुन्द शर्मा, वरिष्ठ उपाध्यक्षमा सूर्य मानन्धर, महिला उपाध्यक्षमा भवानी थापा, सचिवमा सरोजकुमार तिमल्सिना र कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध भएका छन् । अध्यक्षमा निर्वाचित मुकुन्द शर्मा यसअघि संस्थाको सचिव थिए भने वरिष्ठ उपाध्यक्षमा मानन्धर नै रहेका थिए । महिला उपाध्यक्षमा निर्वाचित भवानी थापा यसअघि सञ्चालक सदस्य थिइन् । अहिले सचिव बनेका सरोजकुमार तिमल्सिना यसअघि कोषाध्यक्ष र अहिले कोषाध्यक्ष बनेका कृष्ण थापा यसअघि सञ्चालक सदस्य थिए । यस्तै सञ्चालक सदस्यमा खुलातर्फ कौशलराज खड्का, भैरवप्रसाद सेढाई, विकास पन्त, मदन खकुरेल, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले र श्याम सापकोटा निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा अनिता कार्की, देवकी आचार्य, बबिता बोहरा र संगीता खड्का तथा दलित तथा जनजातिबाट सुस्मिता नेपाली निर्वाचित भए ।
सञ्चालक सदस्यमा मदन खकुरेल, श्याम सापकोटा, कौशलराज खड्का, रामेश्वर शर्मा वाग्ले दोहोरिएका हुन् ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा राजन श्रेष्ठ तथा सदस्यमा भीम प्रसाद बञ्जारा निर्वाचित हुँदा लेखा सुपरिवेक्षण समितिको महिला सदस्यमा कसैको पनि उम्मेदवारी कायम नरहेको निर्वाचन उपसमितिले जनाएको छ ।