तरकारी बीउ उत्पादनबाट किसानको आर्थिक अवस्थामा सुधार


मेचीकाली

काभ्रे– काभ्रेको तेमाल गाउँपालिकाको तीन वटा वडामा सञ्चालित मसला बाली तथा तरकारी बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम लागु भएपछि स्थानीय किसानहरुको आर्थिक अवस्थामा सुधार आएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा सिप्रेड एसिया एडिको सहयोगमा मसला बाली तथा तरकारी बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम लागु भएको हो । कार्यक्रममार्फत स्थानीय कृषकहरुले विभिन्न रैथाने मसला बाली तथा तरकारीको बीउ उत्पादनमा अग्रसर भएका हुन् । सिप्रेड एसिया एडिको सहयोगमा तीन वटा वडाका २५ सहकारी तथा समुहका ६६२ किसानहरु विगत दुई वर्षदेखि मसला बाली तथा तरकारी बीउ उत्पादनमा लागेका हुन् ।

सिप्रेड एसिया एडिका कार्यक्रम अधिकृत नवराज न्यौपानेले रैथाने मसला बालीतर्फ किसानहरुले अदुवा, बेसार, अकबरे खुर्सानी, लसुन, प्याज र धनियाँको बिउ उत्पादन गरेको बताउनुभयो । यसैगरि रैथाने तरकारी बीउ तर्फ किसानले काउली, गोलभेडा, केराउ, राजमा सिमी, चौमासे सिमी, चम्सुर र रायोको बीउ उत्पादन ह्ुँदै गरेको बताउनुभयो । 

उहाँले तेमाल गाउँपालिकाका तीन वटा वडामा चार वटा नमूना कृषि फार्म, दुई वटा साना सामाजिक बजार ब्यवसाय स्थापना (मसला)  को लागी मसला प्रसोधन सामाग्री बितरण, २५ वटा समूहका किसानहरुलाई झोल मल बनाउने तालिम, किसानहरुलाई कालिमाटी तरकारी बजार, बनेपाको तरकारी भाउ तथा किसानहरुलाई सात दिनको मौसम जानकारी समेत उपलब्ध गराइएको बताउनुभयो । कार्यक्रम अन्र्तगत नमोबुद्ध नगरपालिका–५ जोरसल्लामा बीउ बैँक समेत स्थापना गरिएको छ । तेमाल गाउँपालिका–१ का किसान रामप्रसाद पाण्डेले गाउँमा मसला बाली तथा तरकारी बीउ उत्पादन भएपछि आफुहरुको आर्थिक अवस्थामा सुधार भएको बताउनुभयो । उहाँले सिप्रेडले किसानहरुलाई विभिन्न तालिम, झोल मल, नमूना कृषि फार्म, बीउको ग्रेडिङ र प्याकेजिङको गर्न प्राविधिक सहयोग दिएको बताउनुभयो । 

उहाँले मसला बाली र तरकारी बीउ उत्पादन गर्दा एउटा किसानले न्यूनतम ७० हजारदेखि अधिकतम ४ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । अर्का किसान रत्न भण्डारीले आफुले नमूना कृषि फार्मबाट उत्पादकत्व बढ्नुको साथै आम्दानी समेत राम्रो भएको बताउनुभयो । एउटा नमूना फार्ममा लगाइएको काँक्रोबाट ३० हजार, अकबरे खुर्सानी बिक्रीबाट आम्दानी गरेको बताउनुभयो । सिप्रेड एसिया एडिको सहयोगमा सञ्चालित भएको मसला बाली तथा तरकारी बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम मार्फत उत्पादन भएका बीउ लाइफ सिड्स कम्पनीले खरिद गरी बिक्री गर्दै आएको छ । 

कार्यक्रम सुरु हुनुपूर्व प्रति व्यक्ति २१ हजार २६७ रुपियाँ आम्दानी गर्दै आएका किसान कार्यक्रम लागु भएपछि प्रति व्यक्ति ४२ हजार ६३५ रुपियाँ पुगेको कार्यक्रम अधिकृत न्यौपानेले बताउनुभयो ।  सिप्रेडले लामो समयदेखि जिल्लाका विभिन्न स्थानमा नेपाली तरकारी बीउ उत्पादनमा प्राविधिक सहयोग गर्दै आएको छ । पाँच वटा स्थानीय तहमा सन् २०१९ नोभेम्बरबाट सुरु भएको कार्यक्रम अप्रिल २०२२ बाट सम्पन्न भएको छ । 


प्रतिक्रिया



थप समाचारहरु