एकतिस दुग्ध सहकारीलाई प्रति लिटर दुई रुपियाँ थप रकम


Mechikali

काभ्रे– काभ्रेमा बढी दुध उत्पादन गर्ने एकतिस वटा दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादनमा आधारित प्रति लिटर दुई रुपियाँ अनुदान रकम प्राप्त गरेका छन् । बागमती प्रदेश सरकारले कार्यविधि नै निर्माण गरेर दुधको उत्पादकत्व बढाई प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले दुग्ध उत्पादनमा आधारित अनुदान वितरण सुरु गरेको हो ।
प्रदेश सरकारबाट आर्थिक वर्ष २०७७÷०७८ मा काभ्रेमा सबैभन्दा बढी दुध उत्पादन गर्ने ३१ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरुले प्रति लिटिर दुई रुपियाँ अनुदान रकम प्राप्त गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले जनाएको छ । केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा। मोगलप्रसाद साहले प्रदेश सरकारबाट काभ्रेका ३१ वटा दुग्ध उत्पादक सहकारी संस्थाले प्रति लिटर दुई रुपियाँ अनुदान वापत दुई करोड ५४ लाख ७७ हजार ८६८ रुपियाँ प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले काभ्रेको मण्डनदेउपुर नगरपालिकभित्र रहेका
१४ वटा दुग्ध उत्पादक सहकारी, पाँचखाल नगरपालिकामा रहेका ११ वटा दुग्ध सहकारी, धुलिखेल नगरपालिकाका तीन वटा, पनौतीमा रहेका दुई वटा र रोशी गाउँपालिकामा रहेको एउटा दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादनमा आधारित दुई रुपियाँ थप अनुदान रकम प्राप्त गरेका हुन् ।
विज्ञ केन्द्रका अनुसार काभ्रेको पनौती– १२ मा रहेको कलातिभूमिडाँडा साना किसान कृषि सहकारी संस्थाले सबैभन्द्या बढी ४३ लाख १३ हजार ७४० रुपियाँ, धुलिखेल– २ मा रहेको सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्थाले ३५ लाख ३५ हजार, रोशी गाउँपालिका–८ को नार्के दुग्ध उत्पादक सहकारी संस्थाले १५ लाख ३५ हजार ८१० रुपियाँ अनुदान रकम प्राप्त गरेको छ । यस्तै पाँचखाल नगरपालिका भित्रका ज्यामिरकोट दुग्ध उत्पादक सहकारी, शिखरपुर श्रीरामपाटी दुग्ध उत्पादक सहकारी, मुडेपानी दुग्ध उत्पादक सहकारी, गणनायक दुग्ध उत्पादक सहकारी, टाँकेबेशी दुग्ध उत्पादक सहकारी, अनैकोट दुग्ध उत्पादक सहकारी, धनलक्ष्मी दुग्ध उत्पादक सहकारीले अनुदानको रकम प्राप्त गरेका छन् ।
पाँचखाल नगरपािलकाका कै महदेवस्थान दुग्ध उत्पादक सहकारी, भक्रमदेवी दुग्ध उत्पादक सहकारी, आत्मनिर्भर दुग्ध उत्पादक सहकारी र महाँकाली दुग्ध उत्पादक सहकारीले अनुदान रकम पाएका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रगती दुग्ध उत्पादक सहकारी, रानीटार दुग्ध उत्पादक सहकारी, आँपघारी दुग्ध उत्पादक सहकारी, ब्रह्मायणी दुग्ध उत्पादक सहकारी, उमादेवी दुग्ध उत्पादक सहकारी, सर्वझाङ्ग दुग्ध उत्पादक सहकारी, नयाँ बिन्धवासिनी दुग्ध उत्पादक सहकारी, जनता दुग्ध उत्पादक सहकारीले प्रति लिटर दुई रुपियाँ अनुदानको रकम पा्रप्त गरेका हुन् ।
मण्डनदेउपुरकै देवीपञ्चकन्या बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी, मिलन दुग्ध उत्पादक सहकारी, भतेरे दुग्ध उत्पादक सहकारी, पञ्चकन्या बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी, ठुल्डिबेशी दुग्ध उत्पादक सहकारी र चैनपुर दुग्ध उत्पादक सहकारीले अनुदान रकम पाएका हुन् । अनुदान पाउनेमा धुलिखेल नगरपालिकाभित्रका देउराली दुग्ध उत्पादक सहकारी, सेतीदेवी दुग्ध उत्पादक सहकारी र कालिदेवी दुग्ध उत्पादक सहकारी, पनौती नगरपालिकाको कलातीभूमिडाँडा साना किसान कृषि सहकारी, खरिबोट दुग्ध उत्पादक सहकारी र रोशी गाउँपालिकामा नार्के दुग्ध उत्पादक सहकारी लिमिटेडले प्रति लिटर दुई रुपियाँ अनुदान रकम पाएका हुन् ।
दैनिक कम्तिमा तीन सय लिटर दुध सङ्कलन गर्ने, बार्षिक कम्तिमा दुई सय दिन दुध सङ्कलन गरेको, नियमित बार्षिक साधारण सभा, लेखा परीक्षण गरेको, स्थायी लेखा नम्बर लिएको, कर चुक्ता गरेको सहकारी अनुदान पाउन योग्य हुने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया



थप समाचारहरु