किसानलाई आर्थिक अनुदान र कृषि उपकरण हस्तान्तरण


Mechikali

आँपघारी– काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० मा रहेका किसानहरुलाई प्रविधिमैत्री बनाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले किसानहरुलाई आर्थिक अनुदान तथा कृषि यन्त्र उपकरणहरु हस्तान्तरण गरिएको छ । स्थानीय चण्डेनी मण्डन साना किसान सहकारी संस्था लिमिटेडले प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा किसानहरुलाई मिनि टिलर ट्याक्टर, मकै पिँध्ने मेसिन र मकै छोडाउने मेसिन र स्प्रेयर पम्प प्रदान गरेको हो ।
सहकारीका अध्यक्ष सुमन नेपालले ५० प्रतिशत अनुदानमा वडा नम्बर १० का किसानलाई समेट्ने गरी बाह्र किसानलाई मिनि टिलर ट्याक्टर, चार जना किसानलाई मकै पिँध्ने मेसिन, पाँच किसानलाई मकै छोडाउने मेसिन र नौ किसानलाई इलेक्ट्रिक स्प्रेयर पम्प हस्तान्तरण गरिएको बताउनुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले किसानहरुलाई उक्त उपकरणहरु हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा आलु खेतिका लागि ४४ जना किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत र मण्डनदेउपुर नगरपालिकाको २५ प्रतिशत अनुदान रकम समेत हस्तान्तरण गरिएको थियो ।
सहकारीका अध्यक्ष नेपालले परियोजनाले चार जना किसानलाई पिभिएस आलुको बीउका लागि ३ लाख ४२ हजार रुपियाँ अनुदान रकम उपलब्ध गराएको बताउनुभायो । उहाँले संस्था स्थापना भएको चार वर्षको अवधिमा किसानहरुलाई प्रविधिमैत्री, कृषिमा आधुनिकीकरण गर्नको लागि विभिन्न कार्यक्रमहरु अघि सारिएको बताउनुभयो । उहाँले सहकारीमा आवद्ध १८३ जना किसानले मिनि टिलर ट्याक्टरको आवेदन दिएको बताउनुभयो ।
आर्थिक अनुदान तथा कृषि यन्त्र उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले किसानहरुको आर्थिक समृद्धि नभई देशको विकास सम्भव नभएको एमाले नेतृत्वको सरकारले किसानमैत्री थुप्रै कार्यक्रमहरु अघि बढाएको बताउनुभयो । उहाँले किसानहरुलाई प्रविधिमैत्री, आधुनिक खेतिमा आकर्षित गर्नका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याइएको बताउँदै कृषिका लागि आवश्यक सिंचाईका योजना समेत अघि बढेको बताउनुभयो । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाही, एमालेका नेता विदुरप्रसाद सापकोटा, रिता ढकालले किसानमैत्री बजेट विनियोजनमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु