काभ्रे–२०८१ सालको असोज १० देखि १२ सम्म आएको बाढी पहिरोका कारण घर गुमाएकाहरु अझै पनि टहरामै बस्न बाध्य छन् ।
उनीहरुको स्थायी आवास निर्माण त परै जाओस्, अस्थायी आवासको पुरै रकमसमेत पाउन सकेका छैनन् । अस्थायी आवासको पैसा जिल्लामा नआएको भने होइन, जिल्ला प्रशासन कार्यालयको खातामा पैसा जम्मा भएको पनि छ, तर स्थानीय तहको बेवास्ताका कारण पीडितको खातामा भने रकम जम्मा हुन सकेको छैन ।
गत वर्ष असोज दोस्रो साताको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा तीन हजार १४३ घर पूर्ण रुपमा क्षति भएको थियो । गत वर्षको बाढीपहिरोका कारण घर पूर्ण रुपमा क्षति भएका तीन हजार १४३ घरपरिवारले अस्थायी आवास निर्माणको लागि पहिलो किस्ता वापतको २५ हजार प्राप्त गरेपनि अझैसम्म सबै पिडित परिवारले दोस्रो किस्ताको रकम पाउन नसकेका हुन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका लेखापाल नरहरी प्रसाद खनालले हालसम्म जिल्लाका पाँच वटा स्थानीय तहका ७७१ घरपरिवारलाई अस्थायी आवास वापतको दोस्रो किस्ताको रकम प्रदान गरिएको बताउनुभयो । उहाँले हालसम्म जिल्लाको बेथानचोक गाउँपालिकाका १९६ घरपरिवारलाई ४९ लाख, महाभारत गाउँपालिकाका १५ घरपरिवारलाई तीन लाख ७५ हजार, रोसी गाउँपालिकाका ४६१ घरपरिवारलाई एक करोड १५ लाख २५ हजार रुपियाँ उपलब्ध गराइएको बताउनुभयो । यस्तै जिल्लाको पाँचखाल नगरपालिकाका ६६ घरपरिवारलाई १६ लाख ५० हजार र भुम्लु गाउँपालिकाका ३३ घरपरिवारलाई आठ लाख २५ हजार रुपियाँ अस्थायी आवासको लागि दोस्रो किस्ताको रकम पठाइएको लेखापाल खनालले बताउनुभयो ।
उहाँले अस्थायी आवासको लागि चार करोड ८२ लाख २५ हजार प्राप्त भएको बताउँदै अस्थायी आवास निर्माणको लागि प्राप्त भएको रकममध्ये दुई करोड ५१ लाख ५० लाख रुपियाँ मौज्दात रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत वर्षको बाढीपहिरोबाट क्षति व्यहोरेको नमोबुद्ध नगरपालिकाले अस्थायी आवास निर्माणको लागि दोस्रो किस्ताको रकम माग गरेको जनाएको छ ।
जिल्लामा रहेका अन्य स्थानीय तहहरुले भने दोस्रो किस्ताको रकम माग गर्नका लागि विपद् पोर्टलमा कुनै विवरण प्रविष्टि गरेका छैनन् । प्रशासनको खातामा अस्थायी आवासको रकम मौज्दात रहेपनि स्थानीय तहको ढिलासुस्तीका कारण पिडित परिवारले दोस्रो किस्ताको रकम प्राप्त गर्न सकेका छैनन् । यसअघि प्रशासन कार्यालयले स्थानीय तहमार्फत नमोबुद्ध नगरपालिकामा ८२४ घरपरिवार, बेथानचोकमा २३९ घरपरिवार, महाभारत गाउँपालिकामा १७ घरपरिवार, पनौती नगरपालिकामा ६३४ घरपरिवार, पाँचखाल नगरपालिकामा ८८ परिवार, धुलिखेल नगरपालिकामा ९० घरपरिवारलाई अस्थायी आवासको लागि पहिलो किस्ता वापत २५÷२५ हजारका दरले रकम उपलब्ध गराएको थियो ।
यसैगरी मण्डनदेउपुर नगरपालिकाका १३३ घरपरिवार, खानीखोला गाउँपालिकाका ५३, चौरीदेउराली गाउँपालिकाका २८० परिवार, रोसी गाउँपालिकाका ५६३ परिवार, बनेपा नगरपालिकाका ४१, भुम्लु गाउँपालिकाका ४० र तेमाल गाउँपालिकाका १४१ घरपरिवारलाई पहिलो किस्ताको रकम उपलब्ध गराएको थियो । सरकारले काभ्रेपलाञ्चोकमा रहेका तीन हजार १४३ घरपरिवारका लागि अस्थायी आवासका लागि प्रति परिवार २५ हजारका दरले सात करोड ८५ लाख ७५ हजार रुपियाँ पहिलो किस्ताको रकम उपलब्ध गराएको थियो ।