गोरखा-बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण दुई जिल्लाका २०४ परिवार विस्थापित भएका छन् भने पाँच जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार गोरखाको चुमनुब्री गाउँपालिकाका ४३, धार्चे गाउँपालिकाका ३९ र आरुघाट गाउँपालिकाका ६४ परिवार विस्थापित भएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट ४५ घर पूर्ण रूपमा र २७ घरमा आंशिक क्षति पुगेको छ । दर्जनौँ घर डुबानमा परेका छन् । त्यस्तै, ३४ गोठ र बंगुरका १२ खोरमा क्षति पुगेको छ भने तीनवटा गाडी बगाएको विवरण छ ।
बाढीले भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुर्याएको छ । दुईवटा पक्की पुल, एउटा बेलिब्रिज र दुईवटा झोलुंगे पुल बगाएको छ । चारवटा जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् । बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी रहेका बेला नौ विदेशी नागरिकसहित ८२ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा राहत वितरण सुरु
बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउन थालिएको छ । प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री, धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सामग्री पठाइएको छ ।
स्यारखोला थुनिएपछि बुढीगण्डकीमा बाढी
प्राधिकरणले बुढीगण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोका कारण थुनिएपछि बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६, चुम्लिङनजिकै रहेको उङ्गिलुङ खोलाबाट पानीको बहावसँगै गेग्रान आएर स्यारखोला थुनिएको थियो । केही समयपछि थुनिएको खोला फुट्दा बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको प्रारम्भिक आकलन गरिएको छ ।
बाढीले मानवीय विस्थापनसँगै घर, पुल, सवारीसाधन र जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ ।