बेथानचोकमा जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुरु


मेचीकाली

ढुंखर्क । बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिको आयोजनामा “चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” शुरु भएको छ ।

प्रतियोगिताको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रेफ्री संयोजक अन्तराष्ट्रिय भलिवल महासंघ लेवल २ कोच तथा राष्ट्रिय रेफ्री विजयकृष्ण बादेलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गर्नुभयो । 

२०८० जेठ १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमले स्पर्धा गरिरहेका छन् । प्रतियोगिताको उद्घाटनका क्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खेल सिकाईको एउटा दरिलो माध्यम भएको र यसले युवापुस्तामा अनुशासन, समय र अवसरको महत्व, सहयोग, सहकार्य, नैतिकता, इमानदारिता, सफलता–असफलता, धैर्यता जस्ता सिपको विकास हुने बताउँदै गाउँपालिकाले खेलकुदका क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।


उहाँले बजेटको सिमितताका बाबजुद खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिका प्रतिवद्ध भएको बताउनुभयो । खेलले भाइचार बढाउने बताउँदै उहाँले  सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको र यसले पालिकाका खेलाडीको खेल कौशललाई थप निखार्दै विभिन्न प्रतियोगितामा पालिकाको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले निश्चित समयको अन्तरालमा नियमित तवरमा प्रतियोगिता गर्न सके प्रतियोगिताले स्थानीय स्तरमा खेल, भावना, सद्भाव बढाउन मद्दत गर्ने र यसले समाजलाई स्वास्थ्य र अनुशासित जीवनको सन्देशसमेत दिने भएकोले बेथानचोक तथा जिल्लाको नाम उच्च राख्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । 


कार्यक्रममा बेथानचोक गाउँपालिकाका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख प्रमोद (सिताराम) तिमल्सिनाले गाउँपालिकको स्थापनासँगै भलिवल प्रतियोगिता गर्दै आएको र कोभिड १९ का कारण २ वर्ष रोकिए पनि त्यसपछि भने गाउँपालिकाले निरन्तर प्रतियोगिता गर्दै आएको बताउनु भयो । उहाँले बेथानचोक भलिबलका लागि संभावना बोकेको क्षेत्र भएकाले गाउँपालिकाले अन्य खेलकुदका साथै भलिवलका लागि लगानी गरेको बताउनु भयो । सीमित साधन श्रोतका बाबजुत खेलाडीले देखाएको लगन र खेलभावनाको उहाँले प्रशंसा गर्नुभयो । खेलकुद मनोरञ्जनका साथै ज्ञान, सीप, खेलको रणनिति सिक्नका लागि भन्ने उदेश्य राखेर खेल्नुुपर्ने बताउँदै उहाँले प्रतिस्पर्धाले मात्र खेलको स्तरमा सुधार आउने हुँदा प्रतिस्पर्धालाई मुलमन्त्र मान्न आग्रह गर्नुभयो । 

प्रतियोगितामा गाउँपालिकाको उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्षहरु मधुसुधन तिमल्सिना वडा नं. १, पुरुषोत्तम तिमल्सिना वडा नं. २, कुवेर ढकाल वडा नं. ३, गाउँपालिकाका पूर्व अध्यक्ष गोपालबहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका पदाधिकारी, पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा लगायतको उपस्थिति रहेको थियो । 


लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा प्रत्येक टिममा लिब्रो सहित वा लिब्रो बाहेक  १० जना खेलाडीहरु १ जना प्रशिक्षक र १ जना टिम मेनेजर समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.६० हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र, द्धितीय पुरस्कार नगद रु.४० हजार, ट्रफी, मेडल, प्रमाण पत्र तृतीय पुरस्कार सेमिफाइलका उपविजेता दुवै टोलीलाई नगद रु. १५ हजार र  ट्रफी, मेडल, प्रमाण पत्रको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडी, बेष्ट डिफेन्स, बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडी सबैलाई आकर्षक पुरस्कार दिइने पनि आयोजकको भनाई रहेको छ । प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरी पुरस्कार दिइने आयोजकको भनाई छ । उद्घाटन खेल बेथाञ्चोक गाउँपालिका र ललितपुरको आमन्त्रीत महांकाल क्लब बिच प्रतिस्पर्धा भएको थियो । जसमा बेथाञ्चोक गाउँपालिका टिमले जीत निकालेको थियो ।

कार्यक्रम बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु