स्थानीय तहले अटेर गर्दा अस्थायी आवासको अनुदानमा ढिलाई, विपद् व्यवस्थापन समितिद्वारा फेरि ताकेता


मेचीकाली

धुलिखेल–स्थानीय तहहरुको अटेरीका कारण काभ्रेमा गत असोजमा आएको विपत्तिबाट आवास गुमाएका पीडितहरुले अनुदान पाउनबाट बञ्चित भएका छन् । 

काभ्रेका १३ वटा स्थानीय तहमध्ये ५ वटाले मात्रै अस्थायी आवास निर्माणका लागि लाभग्राहीको यकिन विवरण टुंगो लगाएका छन् । बाँकी स्थानीय तहले बेवास्ता गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काल विवरण प्रविष्ट गर्न ताकेता गर्ने निर्णय गरेको छ । काभ्रेका धुलिखेल र नमोबुद्ध नगरपालिका तथा रोशी, चौरैदेउराली र महाभारत गाउँपालिकाले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टलमा प्रबिष्ट गरेका छन् । धुलिखेल नगरपालिकामा ८६, नमोबुद्धमा ८ सय २४, रोशीमा ५ सय ४८, चौरीदेउरालीमा २ सय ७८ र महाभारत गाउँपालिकामा १७ परिवारको विवरण प्रबिष्ट भएको छ । 

विपद व्यवस्थापन समितिले ती पालिकामा अस्थायी आवास निर्माणका लागि रकम निकासा गर्न ाष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद व्यवस्थापन समितिमा रकम निकासा हुनेछ । 

अस्थायी आवास निर्माणका लागि लाभग्राहीको विवरण विपद् पोर्टलमा प्रबिष्ट गरी स्थानीय विपद व्यवस्थापन समितिको निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने व्यवस्था छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन भएर प्राधिकरणमा पुगेपछि रकम निकासा हुनेछ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पालिकाहरुलाई पटकपटक लाभग्राहीको विवरण प्रबिष्ट गर्न पत्राचार गरिएको बताए । पालिकाहरुले ढिलाई गर्दा पीडितले आवास निर्माणको रकम पाउन ढिलाई भएको ढकालले बताए । 

विपद् व्यवस्थापन समितिको बैठकले सबै विषयगत क्लस्टरहरुलाई म्एच्ए अपडेट र पूर्वतयारीका कार्यहरु यही फागुन २० गतेभित्र टुंग्याउन निर्देशन दिने निर्णय पनि गरेको छ । यस्तै विपद जोखिम न्यूनिकरण र व्यवस्थापन सिकाई तथा आगामी कार्ययोजना विषयक गोष्ठी २०८१ को प्रतिवेदन बैठकमा पेश भएको छ । बैठकले नदिजन्य तथा खानीजन्य क्रसर एवं उद्योगहरुका कारणले विपदजन्य घटनाबाट क्षति हुन पुगेको तथा खालाको वहावले धार परिवर्तन गरेको, वस्तीहरु जोखिममा परेको, वरिपरिका भुभागहरु समेत भत्किएको बगाएको पहिरो गएको, डस्ट तथा गेग्रानले खोलाको सतह बढेको अवस्था रहेको भन्दै उक्त वस्ती खानी खोला वन क्षेत्रहरुको भौगोलिक अवस्था लगायत वातावरणीय पक्षहरुमा अध्ययन गर्न राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई गत माघ १० गते पत्राचार गरेकोमा पुनः पत्राचार गर्ने निर्णय पनि गरेको छ । 

बैठकले डिभिजन वन कार्यालय काभ्रेबाट पेश भएको वन डढेलो नियन्त्रण कार्ययोजना स्वीकृत पनि गरेको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख बसुन्धरा खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायत जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि तथा विपद् व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया



थप समाचारहरु