चैतभित्र कालोपत्रेको काम सक्नेगरी धुलिखेल–खावा सडक निर्माण तीब्र


मेचीकाली

काभ्रे-लामो समयसम्म निर्माण ब्यबसायीको लापरबाहीका कारण बिस्तार हुन नसकेको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको पुनर्निर्माणले गति लिएको छ । 

अरनिको राजमार्गको धुलिखेलखावा सडक खण्डको काम आगामी चौध महिनामा सम्पन्न गर्नका लागि कात्तिक २४ गते सडक डिभिजन भक्तपुर र सिएम÷एवान÷काली जेभी काठमाडौँबीच सम्झौता भई सडक निर्माणको काम सुरु गरिएको थियो ।


सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल– खावा सडक खण्ड पुनर्निर्माणको कामले गति लिएको बताउनुभयो । उहाँले निर्माण ब्यबसायीसंग १४ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएपनि सम्झौता भन्दा पहिले नै पुननिर्माणको काम सक्ने गरि काम भैरहेको बताउनुभयो ।  “हामीले चौध महिनाभित्र सडक पुननिर्माणको काम सक्ने लक्ष्यका साथ काम सुरु गरेपनि चैत महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरि साना संरचना तथा टेवा पर्खालहरु निर्माणका कामहरु भैरहेका छन्“ सिनियर डिभिजनल इन्जिनियर योगेशले भन्नुभयो ।


उहाँले चिसो मौसमका कारण सडकमा सतह (सर्फेस) को काम नभएको र चिसो कम हुने बित्तिकै सतहको काम गरेर चैतभित्र कालोपत्रेको काम सक्ने बताउनुभयो । कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य सानातिना कामहरु गरिने सिनियर डिभिजनल इन्जिनियर योगेशने बताउनुभयो । उहाँले सडकको भौगोलिक अवस्था भन्दापनि पहिलाको निर्माण ब्यबसायीले काम नगरेका कारण सडक पुननिर्माणको काममा ढिलाई भएको बताउनुभयो ।


यसअघि धुलिखेलदेखि खावासम्मको सडक पुननिर्माणको ठेक्का पाएको निर्माण व्यवसायीले सडक विस्तारको लागि अधिकाँश स्थानमा सडक कटिङको काम सकिएकोले कटिङ गर्न बाँकी रहेको स्थानमा ड्रेन राख्नको लागि मात्रै कटिङगको काम गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ । सिडिई योगेशले  धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाईको बन्ने बताउँदै  सडकमा रहेका पहिरो व्यवस्थापनको लागि नयाँ प्रविधिको प्रयोग गरिने बताउनुभयो । सिडिई योगेशले सडकमा रहेको पहिरो व्यवस्थापनका लागि पहिलाको डिजाइनमा समावेश नभएको स्वायल नेलिङ, जुट नेटिङ, सर्फेस ड्रेनेज (भित्री भागको पानीलाई पाइपको माध्यमबाट पानी बाहिर निकाल्ने काम)लगायतका केही नयाँ कामहरु गरिने बताउनुभयो । धुलिखेलदेखि खावासम्मको सडक निर्माणको लागि सिएम÷एवान÷काली जेभी काठमाडौँसंग ३१ करोड ५६ लाख रुपियाँको सम्झौता भएको हो ।


यसअघि सम्झौता भएको २२ महिनाभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी धुलिखेलदेखिखावासम्मको चार दशमलव १५५ किलोमिटर सडक विस्तार गर्नका लागि सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले पटक÷पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपडि डिभिजनले २०८१ फागुन १५ गते निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु