बुढीगण्डकीमा भीषण बाढी : ३५ घर बगायो, नदी फेरि थुनियो


मेचीकाली , 

गोरखा-गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले पैयुँ र बगर गाउँका ३५ घर बगाउनुका साथै विभिन्न बस्तीका घर, पुल तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ । यसैबीच नदी फेरि थुनिएको स्थानीय प्रशासनले जनाएको छ ।


चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यारखोला थुनिएपछि बुढीगण्डकीमा बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । पहिरोका कारण नदीको बहाव रोकिएपछि जमेको पानी एक्कासि खुल्दा नदी किनारका बस्तीमा बाढी पसेको हो ।


बाढीले चुमनुब्री गाउँपालिका–३ का घट्टेखोला, पैयुँ, सल्लेरी, जगत् र बगर क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ । जगत् बगर क्षेत्रको बस्तीमा ठूलो क्षति पुगेको छ भने घट्टेखोलास्थित विकास प्राथमिक विद्यालयको भवनसमेत बाढीले बगाएको छ ।


त्यस्तै, बाढीले माछिखोला बजारमा क्षति पुर्‍याउनुका साथै दोभानस्थित बेलिब्रिज र केरौंजा जाने पुलसमेत बगाएको छ । न्याक्चेत र फिलिम बजार जोड्ने पुलमा पनि क्षति पुगेको जनाइएको छ । बाढीले नदी किनारका अन्य बस्ती तथा भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ ।


चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बाढीले बस्तीमा ठूलो क्षति पुर्‍याएको बताइन् । उनका अनुसार जगत् बगर, सल्लेरी, पैयुँ र घट्टेखोला क्षेत्रमा व्यापक क्षति भएको छ ।


बाढी प्रभावित क्षेत्रमा बिहानैदेखि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका थिए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार नदी थुनिएपछि पानी र वाफको मुस्लो झन्डै २०० देखि ३०० मिटर माथिसम्म देखिएको थियो । उनका अनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।


बाढीको जोखिम अझै कायम रहेकाले प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।


बाढी सोती बजारसम्म पुगेपछि त्यहाँका पुल तथा केही टहरामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् । बाढीको जोखिम त्रिशूली दोभानसम्म हुन सक्ने भन्दै प्रहरीले नदी किनारमा नजान र उच्च स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।


यसैबीच, बुढीगण्डकी नदीमा जलप्रवाह फेरि रोकिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार करिब १५ मिनेटदेखि नदीमा पानी बगेको देखिएको छैन । नदी पटक–पटक थुनिने र खुल्ने अवस्था देखिएकाले तटीय क्षेत्रमा जोखिम कायमै रहेको छ ।


बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको छ । गृहमन्त्री सुदन गुरुङले उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकोप्टरसमेत परिचालन गरिएको जानकारी दिएका छन् ।


नदी फेरि थुनिएकाले पानी एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम रहेको छ । त्यसैले नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित र अग्लो स्थानमा बस्न तथा प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया



थप समाचारहरु