बाढीपीडित व्यवसायीलाई मोबाइल व्यवसायी महासंघको ८ लाख २५ हजार राहत, काभ्रेबाट १ लाख ३५ हजार सहयोग


मेचीकाली , 

काठमाडौं- भोटेकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका मोबाइल व्यवसायीलाई राहतस्वरूप ८ लाख २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। नेपाल मोबाइल व्यवसायी महासंघले बाढीबाट प्रभावित व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो।

महासंघअन्तर्गत नेपाल मोबाइल व्यवसायी संघ नुवाकोटमा आबद्ध १५ जना र आबद्ध हुन बाँकी तीन जना गरी १८ व्यवसायीलाई लक्षित गरी राहत रकम हस्तान्तरण गरिएको हो। महासंघका अध्यक्षले नुवाकोट संघका अध्यक्ष सरोज श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। महासंघका संस्थापक अध्यक्ष भरत भट्टराई, पदाधिकारी तथा विभिन्न जिल्लाका प्रतिनिधिहरूको उपस्थितिमा राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

यसैबीच, बाढीपीडित मोबाइल व्यवसायीलाई सहयोग गर्न काभ्रे मोबाइल व्यवसायी संघले पनि राहत रकम संकलन गरी महासंघलाई हस्तान्तरण गरेको छ। संघले २०८३ असोज २२ गतेसम्म संकलन गरेको १ लाख ३५ हजार ५२० रुपैयाँ असोज २३ गते महासंघको कोटेश्वरस्थित सचिवालयमा हस्तान्तरण गरेको हो।

विपत्तिमा परेका व्यवसायीलाई सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालित राहत अभियानमा काभ्रेलगायत विभिन्न जिल्लाका व्यवसायीले आर्थिक सहयोग गरेका हुन्। महासंघले राहत अभियानमा सहयोग पुर्‍याउने काभ्रे, मकवानपुर र काठमाडौंका मोबाइल व्यवसायी तथा संघहरूलाई विशेष धन्यवाद दिएको छ।

बाढीबाट प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउने अभियानले विपत्तिका बेला व्यवसायीबीचको एकता, सहकार्य र मानवीय सहयोगको भावनालाई थप बलियो बनाएको सम्बन्धित संघहरूले बताएका छन्।

प्रतिक्रिया



थप समाचारहरु