काभ्रे– प्राकृतिक विपतीका कारण काभ्रेपलाञ्चोक जिल्लामा एक हजार दुई सय रोपनी जमिनमा लगाएको कृषि बाली क्षतिको राहत उपलब्ध गराउनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले गत वर्ष र यस वर्षको प्राकृतिक विपतीका कारण खाद्यान्न, तरकारी बाली, फलफुल र बाँसको टनेल क्षति भएका १५१ किसानलाई राहत उपलब्ध गराउनका लागि प्रदेश सरकार समक्ष सिफारिस गरेको हो ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले कार्यालयले गत वर्ष र यस वर्षको प्राकृति विपतीका कारण कृषि बालीमा क्षति पुगेका १५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेश मन्त्रालयमा सिफारिस गरिएको बताउनुभयो । उहाँले प्राकृति विपतीका कारण ९६१ रोपनीमा भएको खाद्यान्न क्षतिको लागि १४ लाख ४१ हजार ५९० रुपियाँ, २६५ रोपनी जमिनमा लगाइएको तरकारी बाली क्षति वापतको सात लाख ८० हजार ६२५ रुपियाँ राहतका लागि सिफारिस गरिएको बताउनुभयो । यस्तै करिब तीन हजार फलफुलका बिरुवा क्षति वापत दुई लाख नौ सय र तीन सय बाँसका टनेल क्षति वापतको १५ हजार रुपियाँ राहत रकम उपलब्ध गराउन प्रदेश कृषि मन्त्रालयलाई अनुरोध गरिएको बताउनुभयो । उहाँले प्रदेश कृषि मन्त्रालयमा हालसम्म गत वर्ष र यस वर्षका प्राकृतिक विपतीबाट पिडित बनेका किसानहरुका लागि २४ लाख ३८ हजार ११५ रुपियाँ राहत उपलब्ध गराउन सिफारिस गरिएको बताउनुभयो ।
प्रदेश सरकारले प्राकृतिक विपतीका कारण खाद्यान्न बालीमा क्षति पुगेका किसानहरुका लागि प्रति रोपनी एक हजार पाँच सय रुपियाँ, तरकारी बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी दुई हजार पाँच सय रुपियाँ राहत उपलबध गराउँदै आएको छ । यस्तै बाँसका टनेलमा क्षति भएमा प्रति वर्ग मिटर ५० रुपियाँ र फलफुलका बिरुवा क्षति भएमा प्रति बोट ५० रुपियाँ राहत उपलब्ध गराउने कृषि बिकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका प्रमुख दवाडीले प्रदेश सरकारले स्थानीय तहको सिफारिस, प्राविधिक प्रतिवेदन, क्षतिको मूल्याङ्कन र जिल्लास्थित राहत ब्यवस्थापन समितिको मूल्याङ्कन गरी पठाएपछि मात्रै प्रदेश सरकारले राहत उपलब्ध गराउने बताउनुभयो । उहाँले गत वर्षको बाढीपहिरोका कारण कृषि बालीमा क्षति पुगेका किसानहरुका लागि ७८ लाख रुपियाँ राहत उपलब्ध गराउनका लागि प्रदेश सरकार समक्ष सिफारिस गरिएकोमा ५३ लाख रुपियाँ राहत प्राप्त भएको र सम्बन्धित किसानहरुलाई राहत रकम उपलब्ध गराईएको बताउनुभयो ।