‘सेवा घर’लाई नमोबुद्ध नगरको आर्थिक सहयोग


मेचीकाली

धुलिखेल–सडक मानवअरुको उद्धार र व्यवस्थापनका लागि सक्रिय मानव कल्याण समाजको सेवा घरका लागि नमोबुद्ध नगरपालिकाले आर्थिक सहयोग उपलव्ध गराएको छ ।
नगरपालिकाले यस बर्षका लागि धुलिखेलमा रहेको सेवा घरलाई ३ लाख रुपैयाँ उपलव्ध गराएको हो । यस बर्ष ३ लाख रुपैयाँ उपलव्ध गराउने सम्झौता गर्दै नगरपालिकाले आज बुधबार एक कार्यक्रमका बीच पहिलो किस्ताको रकम १ लाख ५० हजार रुपैयाँ सेवा घरलाई हस्तान्तरण गरेको छ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना र प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले मानव कल्याण समाजकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईलाई पहिलो किस्ताको सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । नगरपालिकाले अघिल्लो बर्ष सेवा घरलाई १ लाख ५० हजार रुपैयाँ सहयोग उपलव्ध गराएको थियो ।
सहयोग हस्तान्तरण गर्दै नमोबुद्ध नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले विगतमा पनि सेवा घरलाई सहयोग गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । नमोबुद्ध नगर प्रमुख तिमल्सिनाले मानव कल्याण समाजमा रहेकी एक बालिकाको अभिभावकत्वसमेत ग्रहण गरेका छन् । उनले गत बर्ष ती बालिकाको अभिभावकत्व ग्रहण गर्दै उनको अन्नप्राशनसमेत गराइदिएका थिए । तिमल्सिनाले जिल्लाका सबै पालिकाहरुबीच सहकार्य गर्दै अलपत्र सडक मानवको उद्धार र व्यवस्थापनका लागि पहल अघि बढाउने पनि बताए । यसका लागि पालिकाहरुको संयुक्त बैठक आयोजना गरिने उनले बताए ।  
यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले पुण्य कर्म निरन्तर गर्न र त्यसमा सहयोग गर्ने अवसर प्राप्त गरेकोमा धन्यवाद दिँदै सेवा घरलाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सडक मानवहरुको उद्धार, व्यवस्थापन तथा पुनस्र्थापना तथा पारिवारिक पुनर्मिलनका लागि सेवाघरले गर्दै आएको कामको प्रशंसा गरे । मानिसहरु विभिन्न कारणले सडकसम्म आइपुग्ने भएकाले त्यसलाई न्यूनिकरण गर्दै लैजान सबै पक्ष एकजुट भएर लाग्नुपर्ने तिमल्सिनाले बताए ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ६ का वडा सदस्य कृष्णमणी कुईकेलले सेवा घरले सडक मानवको उद्धार र व्यवस्थापनका लागि गरेको सहयोगमा थप हौसला प्रदान गर्नका लागि अक्षयाकोषको स्थापना गरेको जानकारी दिए । कुइँकेलले अक्षय कोषलाई १ करोड रुपैयाँसम्मको बनाउने बताउँदै त्यसमा सहयोगका लागि सहयोगी दाताहरुलाई आह्वानसमेत गरे । कार्यक्रममा सेवा घरकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंले सेवा घरमा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेको र उनीहरुको उचित व्यवस्थापनका लागि भौतिक पूर्वाधार लगायतको अभाव रहेको भन्दै त्यसमा सहयोगका लागि सबैलाई आग्रह गरिन् । नमोबुद्ध नगरपालिकाले गरेको सहयोगप्रति उनले आभार प्रकट गरेकी थिइन् ।
नमोबुद्ध नगरपालिकाले सेवा घरसँगकै सहकार्यमा नगरपालिकाको भकुन्डे बजार तथा आसपासका क्षेत्रमा अलपत्र आधा दर्जन सडक मानवको उद्धार गरिसकेको छ ।



प्रतिक्रिया



थप समाचारहरु