काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको ढुङ्गनाबेसीस्थित नव प्रतिभा माध्यमिक विद्यालय, तिनपिप्लेमा माध्यमिक तहका अंग्रेजी शिक्षकहरूलाई लक्षित गरी एकदिने १२ घण्टे 'ELT Teacher Training' कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सञ्चारमुखी (Communicative) तथा विद्यार्थी–केन्द्रित (Student-Centered) अंग्रेजी शिक्षण रणनीतिका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको हो।
काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेसन अन्तर्गतका ELT Scholars द्वारा आयोजित उक्त तालिममा माध्यमिक तहका अंग्रेजी शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममा Communicative Language Teaching (CLT), Student-Centered Teaching Strategies, Gamification, तथा Continuous Assessment System (CAS) लाई प्रभावकारी रूपमा कक्षाकोठामा प्रयोग गर्ने उपायहरूबारे प्रस्तुति, समूहगत छलफल, प्रदर्शन कक्षा तथा सहभागितामूलक अभ्यास सञ्चालन गरिएको थियो।
तालिमका प्रमुख प्रशिक्षकहरूमा सिमोन देवापाते (प्रधानाध्यापक, शालोम एकेडेमी), रबिन थापा (अमेरिकाबाट फर्किएका हाल शिक्षक) तथा प्रतिमा भुजेल (चिनियाँ भाषा तथा अंग्रेजी शिक्षक) रहेका थिए। प्रशिक्षकहरूले आधुनिक शिक्षण विधि, विद्यार्थीको सक्रिय सहभागिता, सिर्जनात्मक सिकाइ वातावरण तथा निरन्तर मूल्याङ्कन प्रणालीको प्रभावकारी प्रयोगबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए।
कार्यक्रमको अध्यक्षता नव प्रतिभा माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज न्यौपानेले गरेका थिए। प्रमुख अतिथिका रूपमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेसनका अध्यापक श्री के.पी. घिमिरे सहभागी भएका थिए। प्रमुख अतिथि घिमिरेले बदलिँदो शैक्षिक परिवेशमा शिक्षकहरूको निरन्तर व्यावसायिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थी–केन्द्रित, अनुसन्धानमुखी र व्यवहारिक शिक्षण पद्धतिले सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले विद्यालयमा यस्ता व्यावसायिक तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धि भई सिकाइ–सिकाउने प्रक्रियामा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रमको समापनमा सहभागी शिक्षकहरूले तालिम अत्यन्तै व्यवहारिक, समयसापेक्ष तथा कक्षाकोठामा प्रत्यक्ष रूपमा लागू गर्न सकिने खालको रहेको प्रतिक्रिया दिएका थिए। आयोजकले यस्ता प्रशिक्षणले शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।