Global FEWture Alliance को तेस्रो वार्षिक वैज्ञानिक सम्मेलन काभ्रेमा आयोजना हुने


मेचीकाली

काभ्रे- दिगो विकास, जलवायु उत्थानशीलता तथा खाद्य–ऊर्जा–जल (Food-Energy-Water: FEW Nexus) सम्बन्धी नवप्रवर्तन, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले Global FEWture Alliance (GFA) को तेस्रो वार्षिक वैज्ञानिक सम्मेलन नेपालमा आयोजना हुने भएको छ।

असार १५ र १६ गते धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय मा आयोजना हुने उक्त सम्मेलन नेपाल प्रविधि नवप्रवर्तन केन्द्र (NTIC), काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल तथा संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टर को संयुक्त आयोजनामा सम्पन्न हुनेछ। यसबारे जानकारी आज धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रविधि नवप्रवर्तन केन्द्रका निर्देशक प्रा. डा. विम प्रसाद श्रेष्ठ ले दिएका हुन्।

सम्मेलनमा नेपाल, संयुक्त राज्य अमेरिका, इजरायल तथा तान्जानियाका वैज्ञानिक, अनुसन्धानकर्ता, नीति–निर्माता, विकासकर्मी, विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी तथा सामुदायिक साझेदारहरूको सहभागिता रहनेछ। सम्मेलनले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न आवश्यक बहुक्षेत्रीय सहकार्य, वैज्ञानिक अनुसन्धान तथा व्यवहारिक समाधानहरूमा विशेष जोड दिनेछ।

उद्घाटन सत्रमा नेपाल प्रविधि नवप्रवर्तन केन्द्रका निर्देशक प्रा. डा. विम प्रसाद श्रेष्ठ ले स्वागत मन्तव्य व्यक्त गर्नेछन् भने Global FEWture Alliance की निर्देशक तथा University of Maryland School of Public Health की प्राध्यापक डा. एमी आर. सापकोटा ले उद्घाटन मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै Gates Foundation का पूर्व उपनिर्देशक डा. रोशन राज श्रेष्ठ ले प्रमुख वक्ताका रूपमा Keynote Speech प्रस्तुत गर्नेछन्।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जल तथा सरसफाइ, विकेन्द्रीकृत फोहोरपानी प्रशोधन तथा पुनःप्रयोग, लैङ्गिक तथा जल सुरक्षा, नवीकरणीय ऊर्जा, दिगो तथा जलवायु-अनुकूल कृषि प्रणाली, भू–जल व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, शिक्षा, खाद्य प्रणाली तथा दिगो विकासका लागि बहुक्षेत्रीय सहकार्य लगायतका विषयहरूमा वैज्ञानिक शोधपत्र प्रस्तुति, प्राविधिक छलफल तथा अनुभव आदानप्रदान गरिनेछ। साथै विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरूका अनुसन्धानमूलक पोस्टरहरू पनि प्रदर्शनीमा राखिनेछन्।

आयोजकका अनुसार सम्मेलनले अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्दै जल सुरक्षा, खाद्य प्रणाली, नवीकरणीय ऊर्जा, सार्वजनिक स्वास्थ्य तथा जलवायु परिवर्तनका चुनौतीहरूको समाधानका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

जनक माध्यमिक विद्यालयमा अत्याधुनिक अफ–ग्रिड फोहोरपानी प्रशोधन प्रणाली उद्घाटन

सम्मेलनको पूर्वसन्ध्यामा असार १४ गते (आइतबार) नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालय मा इजरायली प्रविधिमा आधारित अफ–ग्रिड फोहोरपानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली को उद्घाटन तथा हस्तान्तरण कार्यक्रम आयोजना गरिनेछ।

संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टरका निर्देशक इन्जिनियर श्रीकृष्ण धिताल का अनुसार इजरायलको Laguna Innovation कम्पनीद्वारा विकसित उक्त प्रणाली पूर्ण रूपमा सौर्य ऊर्जाबाट सञ्चालन हुनेछ। शैवाल (Algae) मा आधारित जैविक प्रविधि तथा स्वचालित प्रक्रियामार्फत विद्यालयबाट निस्कने फोहोरपानी प्रशोधन गरी कृषि सिँचाइका लागि पुनःप्रयोगयोग्य पानी उत्पादन गरिनेछ।

यो प्रणालीले पानी, ऊर्जा र खाद्य उत्पादन लाई एकीकृत गर्दै Food-Energy-Water Nexus अवधारणाको व्यवहारिक उदाहरण प्रस्तुत गर्नेछ। साथै यसले दिगो फोहोरपानी व्यवस्थापन, जल संरक्षण, नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायुमैत्री कृषि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा Global FEWture Alliance की निर्देशक तथा University of Maryland की प्राध्यापक डा. एमी आर. सापकोटा, नेपाल प्रविधि नवप्रवर्तन केन्द्रका संस्थापक तथा निर्देशक प्रा. डा. विम प्रसाद श्रेष्ठ, Laguna Innovation का प्रमुख कार्यकारी अधिकृत डा. क्लाइभ लिप्चिन, धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराज मान कर्माचार्य, संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टरका निर्देशक इन्जिनियर श्रीकृष्ण धिताल लगायत नेपाल, अमेरिका र इजरायलका अनुसन्धानकर्ता तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहनेछ।

आयोजकका अनुसार उक्त प्रणालीले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा स्थानीय समुदायका लागि पानी पुनःप्रयोग, वातावरण संरक्षण, नवीकरणीय ऊर्जा तथा जलवायुमैत्री कृषि अभ्याससम्बन्धी अध्ययन र अनुसन्धानको जीवित प्रयोगशाला (Living Laboratory) का रूपमा कार्य गर्नेछ।

Global FEWture Alliance तथा नेपाल प्रविधि नवप्रवर्तन केन्द्र (NTIC) को भूमिका

Global FEWture Alliance (GFA) अमेरिकास्थित University of Maryland को नेतृत्वमा सञ्चालित एक अन्तर्राष्ट्रिय साझेदारी सञ्जाल हो, जसमा नेपाल, संयुक्त राज्य अमेरिका, इजरायल तथा तान्जानियाका विश्वविद्यालय, अनुसन्धान संस्था, विकास साझेदार तथा सामुदायिक संगठनहरू आबद्ध छन्। यस सञ्जालले खाद्य, ऊर्जा र जल (FEW Nexus) सम्बन्धी समग्र, दिगो तथा जलवायु–उत्थानशील समाधानहरूको विकास, अनुसन्धान तथा कार्यान्वयनमा सहकार्य गर्दै आएको छ।

काठमाडौं विश्वविद्यालयमा स्थापित नेपाल प्रविधि नवप्रवर्तन केन्द्र (NTIC) नेपालमा प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने अग्रणी संस्थामध्ये एक हो। प्रा. डा. विम प्रसाद श्रेष्ठ को नेतृत्वमा सञ्चालित यस केन्द्रले कृषि, पानी, नवीकरणीय ऊर्जा, स्वास्थ्य तथा ग्रामीण विकासका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अनुसन्धान, स्टार्टअप इन्क्युबेसन, प्रविधि हस्तान्तरण तथा युवा उद्यमशीलता प्रवर्द्धनमार्फत दिगो विकासका लागि व्यावहारिक समाधानहरू विकास गर्दै आएको छ।

यस सम्मेलन तथा प्रदर्शन परियोजनामार्फत नेपालमा जलवायु उत्थानशीलता, स्रोतको पुनःप्रयोग तथा दिगो विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय ज्ञान, प्रविधि र अनुभव आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।


प्रतिक्रिया



थप समाचारहरु