काभ्रे-काभ्रेको प्रशिद्ध धार्मिकस्थल नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं-१ नमोबुद्ध गुम्बा नजिकै पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटक सूचना केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी बिक्रीका लागि स्टलसमेत राखिएको छ ।
नमोबुद्धमा पर्यटन प्रवर्द्धनसँगै अर्गानिक कृषिलाई प्रवर्द्धन गर्न स्थानीय किसानसँगको तरकारी बिक्रीस्थल राखिएको हो ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको सहयोगमा काभ्रेको नमोबुद्धमा स्थापना गरिएको नमोबुद्ध पर्यटक सूचना केन्द्रको कोइका नेपालका कन्ट्री डाइरेक्टर माेह्युन कङ र नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
पर्यटक सूचना केन्द्र निर्माणका लागि कोइकाले २६ लाख रुपैयाँ सहयोग गरेको छ भने नमोबुद्ध नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । सूचना केन्द्रमा अर्गानिक तरकारी उत्पादक किसानको प्रोफाइलसहित अर्गानिक तरकारी उत्पादन प्रक्रियाका विषयमा समेत जानकारीमुलक सामग्री राखिएको छ ।
कार्यक्रममा कोइका नेपालका कन्ट्री डाइरेक्टर कङले सन् १९९१ देखि नै कोइकाले स्वयंसेवकहरूमार्फत नेपालको शिक्षा, स्वास्थ्य सेवा, कृषि, पर्यटन र ग्रामीण विकास जस्ता क्षेत्रमा योगदान गर्दै आएको वताए । यस्ता कार्यले नेपाल र कोरियावीचको अझै सम्बन्धलाई सुदृढ पार्न मद्दत गरेको उनले वताए । पर्यटक सूचना केन्द्रसँगै सुरु गरिएको अर्गानिक उत्पादन बिक्री कक्षले नमोबुद्ध नगरपालिकामा स्थानीय जैविक कृषि उत्पादनको प्रवर्द्धनलाई ठूलो फाइदा पुर्याउने विश्वास समेत उनले व्यक्त गरे ।
नगर प्रमुख कुनसाङ लामाले कोइकाले गरेको सहयोगले नमोबुद्ध नगरपालिकामा कृषि र पर्यटनको प्रवर्द्धनमा महत्वपुर्ण भूमिका खेल्ने वताए । नमोबुद्ध क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक पुर्वाधार निर्माणको काम विगतदेखी नै गरिरहेको वताउँदै लामाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नमोबुद्धको प्रचार गर्न पर्यटक सूचना केन्द्र प्रभावकारी हुने विश्वास पनि व्यक्त गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कोइकासँगको सहकार्यमा पर्यटक सूचना केन्द्र स्थापना गर्न सकेकोमा खुशी व्यक्त गर्दै यसले नमोबुद्ध आउने पर्यटकलाई सहजता हुने वताए । कार्यक्रममा उक्त परियोजना हेर्ने कोइकाका प्रतिनिधि लिम योंग म्यानले आफूले नमोबुद्ध आउँदा गरेको सर्वेक्षणको क्रममा अन्य तरकारी र अर्गानिक तरकारी उत्तिकै मुल्यमा बेच्ने गरेको पाएको भन्दै अब भने अर्गानिक तरकारी उत्पादक किसानले राम्रो बजार मुल्य पाउनसक्ने बताए । नमोबुद्ध नगरपालिका कृषि उत्पादनका लागि उर्वर भूमि रहेको भन्दै अर्गानिक उत्पादनमा जोड दिइनुपर्ने उनले बताए ।
कार्यक्रममा उपप्रमुख रत्न लामा, वडा नं ११ का अध्यक्ष कृष्णवहादुर लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, नेकपा एमाले नमोबुद्ध नगर कमिटी अध्यक्ष गणेश मोक्तान लगायतले पर्यटन र कृषि विकासका बारेमा आफ्नो धारणा राखेका थिए । पर्यटक सूचना केन्द्रका लागि नगरपालिकाले जग्गा उपलव्ध गराएको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिए ।