नमोबुद्ध १ को वडा कार्यालय र स्वास्थ्यचौकी भवन उद्घाटनसँगै बालमैत्री वडा घोषणा


मेचीकाली

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री वडा घोषणाका आवश्यक सबै सूचक पुरा गरेसँगै आज वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

मथुरापाटी फूलबारीमा आयोजित एक विशेष समारोहमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री वडा घोषणा गरे । सोही अवसरमा वडा नं. १ को प्रशासनिक भवन र मथुरापाटी स्वास्थ्यचौकी भवनको पनि उद्घाटन गरिएको छ । यससँगै नमोबुद्ध नगरपालिकाको सबै वडामा सुविधासम्पन्न प्रशासकिन वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । 

कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा विकास निर्माणको काम गर्दा सुरुदेखि नै जनतालाई समेटर काम गर्नुपर्ने सुझाव दिएका छन् । नमोबुद्ध नगरपालिका वडा नम्बर–१ को प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री सिंहले विकास निर्माणको काममा जनता तथा सरोकारवालालाई समेटर काम गरे मात्रै जनप्रतिनिधि सफल हुने बताए । विकास निर्माणको काम सत्तामा जाने दल मात्रै नभई विपक्ष, अन्य दलका प्रतिनिधि, सर्वसाधारण नागरिकको पनि सहभागिता आवश्यक पर्दछ भन्दै मन्त्री सिंहले सबैलाई मिलाएर काम गरे मात्रै जनप्रतिनिधि सफल हुने र जनताले पनि उक्त कामलाई आफ्नो भएको महसुस गर्ने बताए । उनले गत असोज महिनामा आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका साथै अन्य जिल्लामा ठुलो क्षति भएको बताउँदै बाढीपहिरोबाट क्षतिग्रस्त संरचनालाई क्रमिक रुपमा बनाउनका लागि सरकार लागि परेको बताए । पछिल्लो समय केही व्यक्तिले देशमा केही काम भएको छैन जस्ता दुष्प्रचार गर्ने प्रयत्न गरेको भन्दै त्यस्तो हल्लाको पछि नलाग्न र आफ्नो बुद्धि र विवेक प्रयोग गरेर विगत र वर्तमान अवस्थाको तुलना गर्न सिंहले आग्रह गरे । उनले अधिनायकवादी व्यवस्थामा बोल्ने, आफ्नो विचार पोख्ने वातावरण नपाउने र पछिल्लो व्यवस्थामा आफ्ना कुरा राख्न पाउने अवसर प्राप्त भएको भन्दै मन्त्री सिंहले विकास निर्माणको काममा २०४६ सालअघि र २०४६ सालपछिको बाटोघाटो, विद्यालय, खानेपानीको अवस्था के थियो भनेर मूल्याङ्कन गर्न अनुरोध बताए । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले काभ्रेपलाञ्चोक जिल्लाको सडक निर्माण तथा कालोपत्रे, पर्यटन विकासलगायतको क्षेत्रमा काम गर्न सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा प्रदेश सभा सदस्य तीर्थ लामा, कञ्चनचन्द्र वादे, जिल्ला समन्वय प्रमुख दिपककुमार गौतमले जिल्लाको समग्र विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाका सबै वडा कार्यालय भवन निर्माण, स्वास्थ्य भवन निर्माणको साथै नगरपालिकालाई  बालमैत्री  नगर घोषणाका लागि वडाहरुलाई बालमैत्री वडा घोषणा गर्ने कामको सुरुवात भएको बताए । कार्यक्रममा पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले सिंगो नमोबुद्ध नगरलाई बालमैत्री नगर घोषणाका लागि शुभकामना दिँदै अहिले निर्माण भएको वडा कार्यालय भवनबाट जनताले गाउँगाउँमा सिंहदरबार भन्ने नारामात्रै नभई सेवा पनि सोहीअनुसारको पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत मन्तव्य राखेका थिए भने वडा नं. १ का अध्यक्ष प्रेम लामाले धन्यवाद ज्ञापन गरेका थिए । वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेको कार्यक्रममा नेपाल सरकारका सहसचिवद्वय पदम मैनाली र नवराज प्याकुरेललाई नमोबुद्ध नगरपालिकाको समग्र विकासमा योगदान गरेवापत सम्मान गरिएको थियो । यस्तै इन्जिनियर उज्ज्वल अर्याल, रामप्रसाद दाहाल, भवन निर्माणको ठेकेदार कम्पनी, बालमैत्री वडा घोषणाका लागि सहयोग गर्ने संघसंस्था र विद्यालय लगायतलाई सम्मान गरिएको थियो ।  


प्रतिक्रिया



थप समाचारहरु