नेत्र रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ : मन्त्री बस्नेत


मेचीकाली

बनेपा– काभ्रेको बनेपामा पहिलोपटक नेत्ररोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पतालको आयोजनामा आज शुक्रबारदेखी सम्मेलन सुरु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सम्मेलनको उद्घाटन गरे । कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनलाई संसोधन गर्नुपर्ने आवश्यक रहेको वताए । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनलाई संसोधन नगरे आगामी ५ वर्षभित्र नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी नै नहुने दावीसमेत गरे । ऐनभित्र रहेका राम्रा कुरालाई आत्मसात गर्ने र संसोधन गुर्नपर्ने कुरालाई संसोधन गर्न मन्त्री परिषद्मा प्रस्ताव पेश गरेको उनले जानकारी दिए । एक सयदेखि तीन सय शैय्या सञ्चालन रहेका अस्पताललाई पारामेडिक्स र नर्स तथा तीन सय भन्दा बढी शैय्या सञ्चालनमा रहेका अस्पताललाई एमबिबिएस डाक्टर पढाउने अनुमति दिने योजना समेत मन्त्रालयले अघि बढाएको उनको भनाई थियो ।

कार्यक्रममा डुली इन्टरमेड इन्टरनेशनल अमेरिकाका अध्यक्ष स्कट ह्यामिल्टनले सबैको सहयोगबाट मात्रै अन्धोपन निवारण गर्न सकिने बताउँदै आँखा अस्पतालका लागि गर्दै आएको सहयोग आगामी दिनमा समेत निरन्तर रहने बताए । 

कार्यक्रममा अस्पतालका अध्यक्ष मधु आचार्यले सन् २००७ मा सुरु भएको अस्पतालले हालसम्म करिब दश लाख नागरिकको आँखाको विभिन्न उपचार गरेको जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सगुन जोशी, मधेश स्वास्थय बिज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादव, सेवा फाउण्डेशनका क्षेत्रिय निर्देशक रविन्द्र शाक्यले आँखा अस्पतालले अन्धोपना निवारणका लागि पुर्‍एको योगदानको चर्चा गरेका थिए ।

 आजबाट सुरु भएको नेत्र रोग विशेषज्ञहरुको सम्मेलनमा अमेरिका र नेपालका करिब १५० विशेषज्ञको उपस्थिती रहनेछ । सम्मेलनकै अवसर पारेर आँखा अस्पतालमा नवनिर्मित ओपिडी ब्लकको उद्घाटनसमेत गरिएको छ ।

प्रतिक्रिया



थप समाचारहरु