‘जवाफदेहिताबाट भाग्दै’ पनौतीको नगरसभा स्थगित


मेचीकाली

पनौती–पनौती नगरपालिकाको आजका लागि बोलाइएको नगरसभा स्थगित भएको छ । 

कार्यपालिकाबाट पारित भएको संगठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम सर्वे) अनुसारको दरबन्दी पारित हुने डरले नगर प्रमुख रामशरण भण्डारीले नगरसभा नै स्थगित गरेका हुन् । हिजो बसेको नगर कार्यपालिकाको बैठकले २ सय ८७ जनाको दरबन्दी सहितको सांगठनिक संरचना पेश गर्ने निर्णय गरेको थियो । सोहीअनुसारको कागजात आजको नगरसभामा पेश गर्नुपर्ने थियो । तर, नगरसभामा ओएण्डएम सर्वेको कागजात नै थपिएपछि एमालेबाट निर्वाचित उपप्रमुख गीता बन्जारासहितका जनप्रतिनिधिले जवाफ माग्ने तयारी गरेका थिए ।

कार्यपालिकाको निर्णय उल्ट्याउँदै ल्याइएको प्रतिवेदन पारित नहुने देखिएपछि नगरसभा नै स्थगित भएको हो । नगरसभा सुरु नै नभई स्थगित गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् । सुशासन समितिले तयार पारेको र कार्यपालिकाबाट पारित भएको सांगठनिक संरचनासहितको ओएण्डएम पारित हुने डरले नगरसभा स्थगित गरिएको आरोप एमालेबाट निर्वाचित जनप्रतिनिधिले लगाएका छन् ।   

एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट उपप्रमुख गीता बञ्जाराले जारी गरेको विज्ञप्तिमा  स्थगन एमाले सम्बद्ध नगरसभा सदस्यहरूले ओएण्डएम नै गर्न दिएनन् भन्ने भ्रमपुर्ण मिथ्या आरोप खेपी रहेको अवस्थामा सो संग सम्बन्धित विषयमा दुई थरि डकुमेण्ट पेश हुन आएको देखिएको र बिगतमा पर्याप्त अध्ययन विश्लेषण बिना ओएण्डएम ल्याउदा ३७० जनाको प्रस्तावित दरवन्दी तेरिज सहितको प्रस्ताव आएकोमा सहमतिय आधारमा उक्त प्रस्तावलाई पूनरावलोकन समेत गरी २८७ जनाको कूल दरवन्दी सहितको सांगठनिक संरचना संस्थागत बिकास तथा सुशासन समितिको बैठकबाट सर्वसम्मत रूपमा पास भएको तथा हिजोको कार्यपालिका बैठकबाट सोही प्रस्ताव पेश गर्ने निर्णय भएको स्मरण गराइएको छ । तर, उक्त पस्ताव पारित होला भन्ने डरले नगरसभा नै स्थगित गरिएको भन्दै यसको जवाफदेहिता आफूहरुले बोक्न नसक्ने विज्ञप्तिमा उल्लेख छ । 


यस्तो छ विज्ञप्ति


आदरणीय पनौती नगरवासी दाजुभाई तथा दिदिवहिनीहरू

१४ औ नगरसभा स्थगन सम्बन्धी प्रेस विज्ञप्ती

पनौती नगरपालिकाको आज मिति २०८० साल माघ १८ गतेका लागि बिहान ११:०० बजेदेखि सुरू हुने गरि मिति २०८०।१०।१७ मा सार्वजनिक समेत भएको कार्यसूची बमोजिम निकै ढिलो गरि सुरु भएको नगरसभाको बैठक स्वीकृत कार्यसूचीमा प्रवेश नगरी औपचारिक रूपमा सभा सुरू भएको घोषणा पूर्व सभाका अध्यक्ष एवं प्रमुख रामशरण भण्डारीले राजनीतिक भाषण गरि सभा संचालनको घोषणा नै नगरि आफ्नो आसनबाट सभा स्थगन भएको भनाई राखि सभा कक्षबाट बाहिरिनु भयो । हामी सभामा निर्धारित कार्य सूचिमा आवश्यक छलफल र निर्णयका लागि व्यग्रतापूर्वक प्रतिक्षारत नगरसभा सदस्यहरूलाई उपेक्षा गरि गरिएको यस व्यवहार प्रति दुःख व्यक्त गर्दछौं । राजनीतिक आस्था जे जस्तो जहाँ भए पनि निर्वाचित भईसके पश्चात सबैको साझा प्रतिनिधिका रूपमा स्थापीत हुने र सोहि अनुसारको व्यवहार प्रदर्शन गर्नुपर्नेमा एकाकी तवरले छलकपट र स्वार्थमा लाग्दा समग्र पनौती निर्माणको अभियानले सार्थकता प्राप्त नगर्ने निश्चितै छ यद्यपी हाम्रो अधिक लचकतापूर्ण व्यवहारलाई कमजोरी ठानी गरिने व्यवहारले हामी कसैको हित गर्न सक्दैन सक्दैनौ ।

स्थगन पश्चात नगरसभा सदस्यहरूले आफुलाई कार्यालयले उपलब्ध गराएको सभामा छलफलका लागि पेश हुने सामाग्री भित्र विगत देखिने पेचिलो बन्दै हामी सम्बद्ध नगरसभा सदस्यहरूले O&M (संगठन व्यवस्थापन सर्वेक्षण) गर्न दिएनन् भन्ने भ्रमपुर्ण मिथ्या आरोप खेपी रहेको अवस्थामा सो संग सम्बन्धित विषयमा दुई थरि डकुमेण्ट पेश हुन आएको देखियो, बिगतमा पर्याप्त अध्ययन विश्लेषण बिना O&M ल्याउदा ३७० जनाको प्रस्तावित दरवन्दी तेरिज सहितको प्रस्ताव आएकोमा यस सभाको पूर्व सन्ध्यामा सहमतिय आधारमा उक्त प्रस्तावलाई पूनरावलोकन समेत गरी २८७ जनाको कूल दरवन्दी सहितको सांगठनिक संरचना संस्थागत बिकास तथा सुशासन समितिको बैठकबाट सर्वसम्मत रूपमा पास गरि २०८०।१०।१७ को नगरकार्यपालिका बैठकमा पेश हुँदा सुशासन समितिबाट पेश भए बमोजिम नै कार्यपालिकाले आजको नगरसभामा पारितका लागि पेश गर्न स्वीकृत गरेको व्यहोरा स्पष्ट गर्दछौ, बिगतमा पास गर्न दिएन भन्ने हामीलाई आरोप लगाई रहदा अहिले कार्यपालिकाले पेश गरेको O&M पारित होला भन्ने भयले स्वार्थ बस हठातमा पराजित मानसिकताले ग्रस्त भई औपचारिक सुरुवात विना सभा स्थगित गरेको हाम्रो ठम्याई छ, छलफल संवाद बिना कार्यसूची भन्दा बेग्लै औपचारिक निर्णय बाहिर रहेर कसैको व्यक्तिगत हित र इसारामा संस्थागत निर्णयलाई चुनौती दिने गरि O&M सम्बन्धी कागजात थप्नु गलत र निन्दनीय छ. यस्ताखाले गलत कृयाकलापमा कार्यलय समेत साक्षी बस्ने स्थिति दुर्भाग्यपूर्ण छ । अतः हामी र हाम्रा कारण आजको सभा स्थगन नभएकाले यसको पूर्ण जिम्मेवारी र जवाफदेहिता स्थगन कर्तासँग रहने व्यहोरा समेत सम्बद्ध सबैमा अनुरोध गर्दछौं ।



-नेकपा एमालेको तर्फबाट पनौती नगरपालिका प्रतिनित्वि गर्ने

उप-प्रमुख, वडा अध्यक्ष र नगरसभा

सदस्यहरूका प्रतिनिधि उप-प्रमुख गीता बन्जारा


प्रतिक्रिया



थप समाचारहरु