सामुदायिक साकोसको समीक्षा गोष्ठी सम्पन्न


मेचीकाली

पनौती, काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व. २०८०।०८१ को तेस्रो त्रैमाससम्म लक्ष्य र हासिल गरेको उपलब्धीको बारेमा समीक्षा गोष्ठी सम्पन्न भयो ।

संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारहरु, सेवाकेन्द्र व्यवस्थापन उप–समितिका संयोजक तथा सदस्यहरु, विषयगत उप–समिति, उच्च व्यवस्थापन र सेवाकेन्द्र प्रमुख एवं कर्मचारीहरु समेत गरी १०१ जनाको सहभागितामा सो गोष्ठी सम्पन्न भएको हो । संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदयराम कायस्थ प्रमुख अतिथि थिए भने वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धरले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गरेका थिए । 

संस्थाले सिटिजन्स बिमा कम्पनीका लघुबिमा परामर्शदाता तथा तालिम अधिकृतको उपस्थितिमा बिमाको महत्व र हाल बजारमा नयाँ आएको बिमा क्षेत्रका प्रोडक्टहरुको बारेमा अभिमूखिकरण समेत भएको थियो । 

यस आर्थिक वर्षमा २ वटा संस्थाहरुसँग एकीकरण गर्न सफल भएको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक मन्दिको अवस्थामा समेत ८ हजार ३ सय ७१ जना शेयर सदस्यहरु यस आ.व. को ९ महिनामा वृद्धि गर्न सफल रहेको, शेयर पूँजीमा रु. ८ करोड २६ लाख, कूल सम्पत्तीमा रु. १ अर्ब ६९ करोड वृद्धि भएको छ भने संस्थाको बचत निक्षेप १ अर्ब ५६ करोडले वृद्धि भएको र ऋण लगानीमा ७५ करोड २४ लाख वृद्धि भएको छ । १८ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको यस संस्थाको २०८० चैत्र मसान्तसम्म संस्थाको कूल पूँजी ६ अर्ब १६ करोड पुगेको छ भने सदस्य संख्या ५९ हजार ६ सय २१ पुगेको छ । 

गोष्ठीमा प्रमुख अतिथिको मन्तव्य राख्दै उदयराम कायस्थले सहकारी संस्थाहरुको विकास र सुशासनमा सञ्चालन गर्नका लागि जिल्ला बचत संघले बनेपा नगरपालिकासँग समन्वय गर्दै १०० वटा संस्थालाई तालिम दिईसकेको र हाल पनि हरेक बुधबार तालिम सञ्चालन गर्दै आएको बताए । मन्तव्यकै क्रममा सामुदायिक एउटा सिक्ने स्कूलको रुपमा विकास भएकोले आर्थिक मन्दि र सहकारी अभियानमा संकट आईपर्दा पनि यसको लोभलाग्दो वृद्धि हुनु भनेको समुदायको संस्थाप्रति विश्वास बढ्नु हो यसलाई कायम राख्न सक्नुपर्छ भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष प्रकाश बन्जाराले सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै सहभागीबाट उठेका जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा यस गोष्ठीबाट प्राप्त सकारात्मक सुझावहरुलाई कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । राज्यले समस्याग्रस्त सहकारीहरुको समस्या समाधानको निमित्त संयन्त्र निर्माण गरी सहकारी अभियान शुद्धिकरणका लागि महत्वपूर्ण कदम चालेकोमा सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए । 

कार्यक्रममा संस्थाका सल्लाहकारहरु शम्भुलाल श्रेष्ठ, मुकुन्द प्रसाद दाहाल र राजकुमार हुमागाईले आ–आफ्नो मन्तव्य राखेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले यस आ.व. को ९ महिनाको लक्ष्य तथा प्रगति र यस वर्षान्त सम्मको लक्ष्य तथा योजनाको पुनरावलोकनको प्रस्ताव समेत प्रस्तुत गरेका थिए भने नायव प्रमुख कार्यकारी अधिकृतहरु कुमार शर्मा, यज्ञ प्रसाद सेंढाई, श्याम सुन्दर श्रेष्ठ, वरिष्ठ अधिकृत जिवन सत्याल, ऋण विभाग प्रमुख भक्त बहादुर श्रेष्ठ र बचत तथा सदस्य सेवा विभाग प्रमुख योग बहादुर सापकोटाले आ–आफ्नो जिम्मेवारी अनुसारको विभाग र सेवाकेन्द्रहरुको प्रगतिको बारेमा समीक्षा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम