संघीय संसद्को चालु अधिवेशन आज अन्त्य हुँदै


मेचीकाली , 

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन आज अन्त्य हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिसकेका छन्। त्यसअघि शुक्रबार दुवै सदनका बैठक बस्न लागेका हुन्।

सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि समितिमा पठाउने प्रस्तावदेखि विधेयक पारित गर्नेसम्मका कार्यसूची छन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछिन्। उनले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहरमैला व्यवस्थापन विधेयक, २०८३ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित क्षेत्रका कानुन संशोधन गर्ने विधेयक समितिमा पठाउन प्रस्ताव गर्नेछिन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पनि विभिन्न विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिनिधिसभाले आज संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गर्ने कार्यक्रमसमेत छ। बैठकमा अघिल्ला बैठकमा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार लगातार वा अन्य कारणले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिसम्बन्धी सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्। राष्ट्रपतिबाट प्राप्त पत्रसमेत पढेर सुनाउने कार्यसूची छ। यता, राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ। बैठकमा अघिल्ला बैठकमा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर टेबुल गरिनेछ।

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा प्रतिनिधिसभाले गरेको संशोधन स्वीकार गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। त्यस्तै, ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची पनि रहेको छ। दुवै सदनका आजका बैठकसँगै चालु संसद् अधिवेशन औपचारिक रूपमा अन्त्य हुनेछ।

प्रतिक्रिया



थप समाचारहरु