बनेपा-बनेपामा आयोजित विशेष समारोहका बीच रोटरी क्लब अफ काभ्रे भ्यालीको नयाँ कार्य समितिको पदस्थापना सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पास्ट डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरीले नव नियुक्त अध्यक्ष मनिषा श्रेष्ठलाई पदभार को शपथ ग्रहण गराउनुभयो।
पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले आगामी कार्यकालमा विभिन्न सामाजिक, शैक्षिक तथा मानव सेवा सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि गिरीले क्लबका रचनात्मक गतिविधिहरूलाई सफल बनाउन आवश्यक सहयोग र मार्गदर्शन निरन्तर रहने आश्वासन दिनुभयो।
विशिष्ट अतिथि दीपक कुमार गौतमले “कोक्रो हल्लाउने हातले अब विश्व हल्लाउन सक्नुपर्छ” भन्दै महिला सशक्तीकरणका लागि जिल्ला समन्वय समिति सदैव साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उक्त अवसरमा ‘काभ्रे भ्याली अवार्ड’ बाट स्वास्थ्य क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि सक्रिय योगदान पुर्याउँदै आउनु भएका र हाल बनेपा हेल्थ केयरका मेडिकल डाइरेक्टर डा. रविन्द्र प्रसाद राजभण्डारीलाई सम्मानित गरिएको थियो साथै, समाजसेवी उदयसिंहलाई पनि समाजसेवामा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरियो।
कार्यक्रम सञ्चालन क्लबका सचिव शिव पौडेलले गर्नुभएको थियो।