फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला


मेचीकाली

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहोर’ बनाउने अभियान सुरु गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट दैनिक उपयोगका तथा सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो ।

गरपालिकाले स्थानीयस्तरमा उत्पादित सामग्रीहरुको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजनासमेत अघि बढाइसकेको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले जानकारी दिए ।

हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार नारासहित नगरपालिकाले विभिन्न वडाका १८ जना महिलालाई सीप विकास तालिम दिइरहेको छ । मंसिर ५ गतेदेखि सञ्चालन भइरहेको तालिम ९ गते सम्पन्न हुनेछ । नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने उद्देश्यसहित तालिम सुरु गरिएको हो । खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा यसले महिलाको आर्यआर्जन पनि बढाउँछ भने आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाटसमेत जोगाउने सुनुवारको भनाई छ ।

तालिममा सहभागी महिलाहरुले चाउचाउ, विस्कुट, खैनी लगायतका विभिन्न सामग्रीका प्लाष्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलश लगायतका सामग्री बनाउन सिकिरहेका छन् । यी सामग्री दैनिकरुपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा बिक्रीसमेत गर्न सकिनेछ । तालिमको सहजीकरण सावित्रा पौडेल र डोल्मा लामाले गरिरहेका छन् । तालिममा सहभागी महिलाहरुले सीप सिकेसँगै उनीहरुले उत्पादन गरेका सामग्रीहरुको थप बजारीकरणका लागिसमेत पहल गरिने सुनुवारले जानकारी दिएकी छन् ।

नमोबुद्ध नगरपालिकाले यसअघि पनि महिलाहरुको सीप विकासका लागि अचार बनाउने लगायत विभिन्न किसिमका तालिमहरुको आयोजना गरिसकेको छ । नगरपालिकाले स्थानीयस्तरमा उत्पादित सामग्रीहरुको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजनासमेत अघि बढाइसकेको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले जानकारी दिए । नगरपालिकाले यसअघि नगरभित्र उत्पादित कृषि तथा फलफुलजन्य उत्पादनको बजारीकरणका लागि कृषि उपज संकलन केन्द्रसमेत सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया



थप समाचारहरु