काभ्रे–यदि मुलुकको परिस्थिति सामान्य रहन्थ्यो भने अझै २ वर्ष प्रतिनिधिसभा निर्वाचनका लागि कुर्नुपर्ने थियो । तर गत भदौमा भएको जेन्जी आन्दोलनपछि फेरिएको परिस्थितिमा मिसन ८४ को अभियानमा लागेका दलहरुका लागि ‘मिसन ८२’ ले नै भ्याइनभ्याइ बनाएको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ दलहरुलाई मात्र होइन स्वतन्त्र उम्मेदवारहरुलाई पनि उत्तिकै लागेको छ । विगतका चुनावमा भन्दा यसपटक देशभर स्वतन्त्र उम्मेदवारहरुको संख्या निकै बढेको छ । केही अपवादबाहेक स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन नजितेको नेपालको चुनावी इतिहासमा यसपटकचाहिँ के होला ? सबैको चासोको विषय बनेको छ । किनकि आम नागरिकको राजनीतिक दलप्रतिको वितृष्णा बढेको भनिएका बेला के त्यसको लाभ स्वतन्त्र उम्मेदवारले उठाउलान् त ?
राजधानीसँगै जोडिएको काभ्रे जिल्लामा पनि यसपटक स्वतन्त्र उम्मेदवारको बाढी नै लागेको छ । यसपटक काभ्रेका दुई क्षेत्रमा ४२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये २६ प्रतिशत अर्थात् ११ जना उम्मेदवार कुनै पनि दलको झण्डा नबोकी चुनावी मैदानमा उत्रिएका छन् ।
काभ्रेको पछिल्ला केही चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु मैदानमा ओर्लिएका थिए । दलका उम्मेदवारलाई टक्कर दिन भन्दै चुनाव लडेका उनीहरुले धरौटीसमेत जोगाउन सकेनन् ।
मुलुक संघीयतामा गएसँगै प्रतिनिधिसभाको निर्वाचन तेस्रोपटक हुन लागेको हो । यसअघि २०७४ र २०७९ मा निर्वाचन भएका थिए । २०७४ सालको निर्वाचनमा जम्मा दुईजना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएकोमा दुबै उम्मेदवारले एक सय मतसमेत ल्याउन सकेनन् । २०७४ मा काभ्रे क्षेत्र नं १ मा स्ववतन्त्र उम्मेदवारी दिएका नोर्बु लामाले १३ मत ल्याए भने क्षेत्र नंवर २ मा उम्मेदवारी दिएका सुदर्शन हुमागाईंले ६१ मतमात्रै ल्याए ।
२०७९ मा भएको निर्वाचनमा १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । त्यसमध्ये सबैभन्दा बढी मत क्षेत्र नंवर १ मा उठेकी रुक्मिणी श्रेष्ठले ल्याइन् । उनले ४ सय ८३ मत ल्याएकी थिइन् । यो निर्वाचनमा क्षेत्र नंवर १ मा जीत बहादुर मोक्तानले १८४, माधव प्रसाद कँडेलले ३३, राजन घोरसाइनेले ५९ र ज्ञानेन्द्र कुमार तामाङले २३९ मत पाए । यही चुनावमा क्षेत्र नंवर २ तर्फ कृष्ण खत्रीले ४५, बोध नाथ न्यौपानेले ८३, मनोज पण्डितले १७३, शेषराज लामिछानेले १ सय र स्वयम्भु राज शाक्यले ११५ मत ल्याएका थिए ।
के होला यसपटक ?
यसपटक काभ्रे क्षेत्र नंवर १ मा तीनजना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । १ मा जीवन तामाङ, युवराज चौलागाईं र राजेशकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै क्षेत्र नंवर २ मा आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन बिष्ट, विष्णुकुमार श्रेष्ठ र सिताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । देशको सेवा गर्न राजनीतिक दलको झण्डा बोक्न अनिवार्य नभएको र आफूहरु कुनै पनि दलको भन्दा पनि सबैको साझा प्रतिनिधि बन्ने उद्देश्यसहित मैदानमा उत्रिएको अधिकांश स्वतन्त्र उम्मेदवारको दाबी छ । तर, राजनीतिक दलहरु पार्टीको संगठन अनि कार्यकर्ता परिचालनसहित चुनावी मैदानमा उत्रिएको बेला के स्वतन्त्र उम्मेदवारले उनीहरुलाई टक्कर दिन सक्लान् ? विशेषगरी कुनै पनि दलमा आवद्ध नभएका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवारहरुको पक्षमा मत मागिरहेको देखिएको छ । तर, उनीहरुको मेहनत कस्तो हुनेछ ? आम मतदाता आकर्षित गर्न कस्ता चुनावी प्रतिवद्धता ल्याउछन् र राजनीतिक दलमै आवद्ध भए पनि भित्रभित्रै असन्तुष्ट रहेका कार्यकर्ताहरुको पंक्तिलाई आफूतिर कसरी ढल्काउन सक्छन् त्यसमै उनीहरुको भविष्य निर्भर देखिन्छ ।