जडिबुटीमा पनि धनी छ काभ्रे, १ लाख ४१ हजार किलो संकलन गर्न सकिने


मेचीकाली

काभ्रे-काभ्रेका सरकारी वन क्षेत्रमा रहेका जडिबुटी उसै खेर गइरहेको पाइएको छ । जिल्लामा रहेका सरकारी वन क्षेत्रमा करिब एक लाख ४० हजार किलोग्राम जडिबुटी सङ्कलन गर्न सकिने भए पनि सरकारी चासो नहुँदा उसै खेर गइरहेको छ । सरकारले आफैं संकलन गर्न सकेको छैन भने ती जडिबुटी संकलनका लागि अन्यले पनि निवेदन दिएका छैनन् ।

डिभिजन बन कार्यालय काभ्रेपलाञ्चोकले रणनीतिक कार्ययोजना अनुसार सरकारी बन क्षेत्रबाट ३१ प्रकारका एक लाख ३९ हजार ६१० किलोग्राम जडिबुटी सङ्कलन गर्न सकिने जनाएको छ । कार्यालयले यस वर्ष पाँच औले तीन हजार छ किलोग्राम, वन लसुन एक हजार दुई सय किलोग्राम, सतुवा एक हजार ६५० किलोग्राम, पाखनवेद सात हजार पाँच सय किलोग्राम, जटामसी चार हजार पाँच सय किलोग्राम, पाषणवेद तीन हजार किलोग्राम सङ्कलन गर्न सकिने जनाएको हो । 

कार्यालयका बन अधिकृत सरिता लामाले यस वर्ष कुरिलो एक हजार पाँच किलोग्राम, ठुलो ओखती दुई हजार २५० किलोग्राम, मजिठो एक हजार पाँच सय किलोग्राम, सुगन्धवाल एक हजार पाँच सय किलोग्राम, बुहारीझार छ हजार किलोग्राम, निमपात तीन हजार किलोग्राम सङ्कलन गर्न सकिने बताउनुभयो । यस्तै धसिङगरे छ हजार किलोग्राम, तितेपाती दुई हजार आठ सय किलोग्राम, गुर्जो एक हजार छ सय किलोग्राम, कालीकाठ १५ हजार किलोग्राम, बेल तीन हजार किलोग्राम, अमला एक हजार ७६० किलोग्राम, सिलटिमुर सात हजार पाँच सय किलोग्राम सङ्कलन गर्न सकिनेछ । 

जिल्लामा रहेका सरकारी बन क्षेत्रबाट कण्ठकारी आठ सय किलोग्राम, हर्रो एक हजार दुई सय किलोग्राम, बर्रो एक हजार छ सय किलोग्राम, पिपला १२ हजार किलोग्राम, बनकरेला दुई हजार किलोग्राम, नुनढिकी एक हजार ७५० किलोग्राम सङ्कलन गर्न सकिने कार्यालयले जनाएको छ । त्यसैगरी काफल आठ हजार किलोग्राम, काउलो छ सय किलोग्राम, सिस्नु सात हजार दुई किलोग्राम, चिराईतो १५ हजार किलोग्राम र कुकुरडाइनो दुई हजार किलोग्राम सङ्कलन गर्न सकिनेछ । कार्यालयका बन अधिकृत तथा सुचना अधिकारी लामाले गत वर्ष जिल्लामा रहेका सरकारी बन क्षेत्रबाट जडिबुटी सङ्कलन गर्नका लागि कुनैपनि अनुमति नदिइएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा पनि हालसम्म सरकारी बनमा रहेका जडिबुटी सङ्कलनका लागि कुनै निवेदन नपरेको बताउनुभयो ।

कार्यालयका बन अधिकृत पुनम थापाले यस वर्ष निजी बन, निजी आवादी बनमा रहेको जडिबुटी सङ्कलनका लागि केही निवेदन परेको बताउनुभयो । बन नियमावलीमा उल्लेख भए अनुसारको राजस्व तिरेर जिल्लाको सरकारी बनमा रहेको ३१ किसिमको जडिबुटी सङ्कलन गर्न पाउने भएपनि हालसम्म कुनैपनि व्यक्ति तथा निकायले सङ्कलन गर्न चासो देखाएको छैन । कुनै व्यक्ति र निकायबाट यसतर्फ आकर्षित नभएका कारण जिल्लो  सरकारी बनमा रहेका जडिबुटी त्यतिकै खेर जाने भएको हो । 






प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो एसईई परिक्षा