धुलिखेल– काभ्रेपलाञ्चोकका विभिन्न होटलको फ्रन्ट अफिसमा काम गर्ने कर्मचारीलाई लक्षित गर्दै ५० घण्टे स्किल अपग्रेडिङ ट्रेनिङ (सीप स्तरबृद्धि तालिम) को आयोजना गरिएको छ । होटल सङ्घ नेपाल र इन्स्योर परियोजनाको आयोजना र होटल सङ्घ काभ्रेपलाञ्चोकको ब्यवस्थापनमा ५० घण्टे स्किल अपग्रेडिङ तालिमको आयोजना गरिएको हो ।
होटल सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष पह्लाद प्याकुरेलले जिल्लामा सञ्चालित होटलहरुमा कार्यरत फ्रन्ट अफिसमा कार्यरत कर्मचारीको सीप बृद्धि गर्ने उद्देश्यले तालिमको सञ्चालन गरिएको बताउनुभयो । तालिममा जिल्लाका १५ वटा होटलको फ्रन्ट अफिसमा कार्यरत २१ जना कर्मचारी सहभागि भएको बताउनुभयो । तालिमका क्रममा प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले कक्षा सञ्चालन गरिएको बताउनुभयो । “तालिममा होटल सम्बन्धि ज्ञान भएका कर्मचारीहरु सहभागि भएकोले होटलमा पाहुन (गेष्ट) इन्ट्री (प्रवेश) गरेदेखि उहाँहरु चेक आउट (फिर्ता) नभएसम्म उहाँहरुलाई गर्ने व्यवहार, बोली, ट्रिट गर्ने तरिका र सेवा प्रवाह गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी दिएका हौँ” अध्यक्ष प्याकुरेलले भन्नुभयो । उहाँले यो तालिमले फ्रन्ट अफिसमा काम गर्ने कर्मचारीलाई आगामी दिनमा आफ्नो कार्यक्षेत्रमा काम गर्नका लागि धेरै मद्दत गर्ने बताउनुभयो । युवराज श्रेष्ठले सङ्घले लामो समयदेखि यस्ता तालिमको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले होटल क्षेत्रमा दक्ष जनशक्तिलाई टिकाउन गाह्रो रहेको बताउँदै यो यो तालिमपछि कर्मचारीहरुको काम गर्ने तौरतरिकामा फरकता आउने बताउनुभयो । 
उहाँले सङ्घले सञ्चालन गरेका तालिमहरु प्रभावकारी बनेको बताउँदै पछिल्लो समय अनलाईन भुक्तानी गर्ने क्रममा विभिन्न समस्याहरु उत्पन्न भएको र त्यसका कारण फ्रन्ट अफिसमा काम गर्ने कर्मचारी समेत मर्कामा परेकोले सङ्घले साइबर सेक्यूरिटी सम्बन्धी तालिम समेत सञ्चालन गर्न लागेको बताउनुभयो । कार्यक्रममा इन्स्योर परियोजनाका निजी क्षेत्र विज्ञ लोकराज जोशीले सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गर्नुभयो । तालिम समापन कार्यक्रममा सिनियर तालिमका प्रशिक्षक तथा होटल म्यानेजमेन्ट करिकुलम डेभलपर सूर्यकिरण श्रेष्ठले फ्रन्ट अफिसमा काम गर्ने कर्मचारीमा धेरै कुराको जिम्मेवारी रहने भएकोले तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।
तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी सुप्रिया पराजुलीले तालिममा होटलमा पाहुना आएदेखि नगएसम्म गर्नुपर्ने व्यवहार, होटलहरुले गरेका काम, होटलका समस्यालगायतको बारेमा जानकारी लिने अवसर पाएको बताउनुभयो । उहाँले तालिमका क्रममा आफुले जानेका कुरालाई होटलका अन्य विभागमा कार्यरत साथीहरुलाई समेत सिकाउने बताउनुभयो । तालिममा प्रशिक्षार्थी स्पर्श ब्याञ्जुले फ्रन्ट अफिसमा कार्यरत कर्मचारीका साथै अन्य विभागमा काम गर्ने कर्मचारीलाई लक्षित गरेर तालिमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । 