काभ्रेमा माओवादीभित्र विभेद, एमालेमा समाहित हुँदै नेता-कार्यकर्ता


मेचीकाली

बनेपा–पार्टीभित्र विभेद हुन थालेपछि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु नेकपा एमालेमा समाहित हुन थालेका छन् । 

माओवादी केन्द्रका नेता कार्यकर्ताले अन्य दलबाट समाहित भएका नेता कार्यकर्तालाई विभेद गर्न थालेपछि देश र जनताको हितमा क्रियाशिल नेकपा एमालेको विकल्प नभएको भन्दै एमाले प्रवेश गर्ने क्रम बढ्दै गएको हो । लामो समय जनमोर्चामा क्रियाशिल भई नेकपा एमाले हुँदै फेरि माओवादीमा क्रियाशिल भएका जनवादी कलाकारसमेत रहेका चौरीदेउरालीको मादनकुँडारीका जिल्ला दोर्जे लामा भन्छन्, ‘जनयुद्ध लडेका र नलडेका भन्दै माओवादीभित्र विभेद हुने गरेको छ ।’ हिजो सुकुलमा बसेको माओवादीले अहिले सोफा पाएपछि सुकुल विर्सेकाले आफूलाई माओवादीमा वितृष्ण उत्पन्न भएको लामाले बताए ।

आज नेकपा एमाले काभ्रेको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लामाले भने, ‘पूर्व जनमोर्चाहरुको योगदान के छ र  भन्दै विभेद गरिन्छ ।’ आफूहरुलाई पदको लोभ नभएको तर जनयुद्ध लडेका भनिएका माओवादीका नेता कार्यकर्ताले आफूहरुमात्रै पहुँचमा हुनुपर्ने सोच राखेको लामाले बताए । छेपाराको टाउकोमा चमेलीको तेल लगाउँदैमा माओवादी रुपान्तरण हुन नसक्ने लामाको भनाई छ । उनले मादनकुँडारीसहित चौरी देउरालीमा माओवादी केन्द्रमा भुकम्प गएको र यसको असर छिमेकी जिल्लासम्म पुगेको बताए । सामाजिक सांस्कृति रुपान्तरणका लागि एमालेको विकल्प नरहेकाले एमालेमा आउने माओवादी कार्यकर्ताको संख्या अझै बढ्ने उनले बताए । 

कार्यक्रममा स्वर्गीय कमानसिंह लामाका भाई ज्ञान लामा, जिल्ला दोर्जे लामासहित दर्जनौं नेता कार्यकर्ता नेकपा एमालेमा समाहित भए । उनीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, केन्द्रीय सदस्य रेशम लामा, एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जु लगायतले पार्टीमा स्वागत गरे । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले एमाले विशाल हृदय भएको साझा फूलबारी भएको बताउँदै एमालेमा समाहित हुने नेता कार्यकर्ताले अपमान र हेला सहनुनपर्ने बताए । राष्ट्रियता, आर्थिक रुपान्तरण, सामाजिक न्यायको क्षेत्रमा एमाले मुलुककै नेतृत्वदायी पार्टी भएको बताउँदै उनले जनताको हितमा काम गर्न एमालेको सरकार आवश्यक रहेको र २०८४ को चुनावमा सोही अनुसार जीत हासिल गर्नेगरी अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।


प्रतिक्रिया



थप समाचारहरु