यातायात कार्यालय काभ्रे : बढ्दैछ सेवाग्राहीको संख्या


मेचीकाली

बनेपा-काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापनासँगै कार्यालयमा यातायात सम्बन्धी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । 

काभ्रे आसपासका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउने उद्देश्यले बागमती प्रदेश सरकारले गत असार १५ गतेदेखि बनेपा नगरपालिका–६ बुडोलमा यातायात व्यवस्था कार्यालय सुरु गरेको थियो ।  काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका सेवाग्राहीलाई लक्षित गर्दै स्थापना गरिएको यातायात कार्यालयमा दिनप्रतिदिन सेवा लिने आउनेको सङ्ख्यामा बृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अधिकृत तथा सुचना अधिकारी पवन बजगाँईले कार्यालयमा दैनिक जसो यातायात सम्बन्धी सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताए ।  

असार १५ गतेबाट सुरु भएको कार्यालयले असार महिनामा एक हजार २७८, साउन महिनामा तीन हजार ३६०, भदौ महिनामा तीन हजार ९७, असोज महिनामा तीन हजार ८५६, कात्तिक महिनामा पाँच हजार २१८ र मङ्सिरको गत आईतबारसम्म दुई हजार ८८१ वटा सवारी साधनको काम गरिएको बताए । कार्यालयबाट सवारी दर्ता, सवारी नामसारी, सवारी कर, सवारी नविकरण, सवारी पटके, सवारी चालक अनुमति पत्र नविकरण, प्रदुषण जाँचपासका साथै सवारी चालक ट्रायल बाहेकका यातायात सम्बन्धी अन्य सबै कामहरु हुँदै आएको छ । यातायात कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै राजस्व सङ्कलन समेत बढ्दो क्रममा रहेको पाइएको छ । हालसम्म कार्यालयबाट दश करोड ८६ लाख सात हजार ७१३ रुपियाँ राजस्व सङ्कलन भएको छ । 

 कार्यालयले भदौ २ गतेबाट सुरु भएको सवारी चालक अनुमति पत्र लाइसेन्स नविकरणको काममा हालसम्म दुई हजार ९५ वटा नविकरण गरिएको र त्यस वापत ६७ लाख ७७ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । 


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने