काभ्रे- वर्षौंदेखि अलपत्र अवस्थामा रहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडक खण्ड अब भने निर्माण हुने आशा बढेको छ । धुलिखेल–खावा सडक विस्तारको लागि नयाँ ठेक्का (बोलपत्र) आह्वान भएसँगै सडक निर्माण हुने आशा बढेको हो ।
अघिल्लो ठेकेदारको बदमासीका कारण सडक निर्माण अलपत्र पर्दा चार वर्ष भन्दा बढी समयदेखी नागरिकले सास्ती बेहोर्दै आएका छन् । जसले गर्दा जनप्रतिनिधिसमेत आलोचनाको सिकार हुँदै आएका थिए । काभ्रे-२ का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले संसदमै दर्जनौंपटक यो सडकका लागि आवाज उठाएका थिए भने स्रोत सुनिश्चितताका लागि पहल गर्दै आएका थिए । नयाँ ठेक्का आह्वानसँगै बाँस्कोटाले सबैलाई बधाई दिँदै अब सडक निर्माण हुने र आलोचना खानु नपर्ने अपेक्षा व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, '४२ करोडको स्रोत सुनिश्चतता सहित धुलिखेल खावा +अरनिको सडकको पुरानो ठेक्का रद्द र १४ महिनामा काम को अवधि तोकेर नयाँ सुचना जारी भएको छ।हैरानी,सकस र तिब्र आलोचना खाईयो अब नपर्ला भन्ने आशासाथ सबैलाई खुसी भएको र देख्न अनि बधाई भन्छु।'
सडक डिभिजन भक्तपुरले १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड विस्तारको लागि बिहिबार नयाँ बोलपत्र आह्वान गरेको छ । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको चार दशमलव १५५ किलोमिटर सडक विस्तारका लागि नयाँ ठेक्का आह्वान गरिएको बताए । धुलिखेल–खावा सडक विस्तारको लागि अर्थ मन्त्रालयबाट ४२ करोड ९० लाख रुपियाँको स्रोत सुनिश्चितता भइसकेको छ ।
अरनिको राजमार्ग सुर्यविनायक–धुलिखेल सडक विस्तारको अन्तिम विन्दुबाट नै सडक विस्तारको काम गरिने योगेशले जानकारी दिए । सिडिई योगेशले सडक विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, धुलिखेल क्याम्पसको पछाडिको भागलाई पहिरोबाट जोगाउनका लागि मेलिङ, जुटनेटिङका साथै वर्षायाममा आउने पानीलाई एक स्थानमा सङ्कलन गरी व्यवस्थित तरिकाले बगाइने बताए।
नयाँ ठेक्का मार्फत काम गर्दा डिभिजनले फागुनदेखि चैत महिनाभित्र सडक कालोपत्रे गरिसक्ने गरी काम लगाउने तयारी गरेको छ । यसअघि उक्त सडक विस्तारको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले सम्झौता अनुसारको समय सिमा र डिभिजले थप गरेको समयमा पनि काम नगरेपछि डिभिजनले गत फागुन १५ गते ठेक्का अन्त्य गरेको थियो । 