काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) मा उपकुलपतिको चर्चा चलिरहँदा काठमाडौँ विश्वविद्यालयमा भित्रभित्र भैरहेको अपचलनलगायतको विषयमा समेत चर्चा चलेको छ ।
बुधबार पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको ‘काभ्रेपलाञ्चोकको समृद्धिमा काठमाडौँ विश्वविद्यालयको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीहरुले विशवविद्यालयभित्र भएको अपलचलन, भ्रष्ट्राचार, आफन्तको नियुक्तिलगायतको विषयमा समेत अब छानविन हुनुपर्ने लगायतको माग समेत गरेका छन् । कार्यक्रममा कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले केयूले शैक्षिकस्तरमाथि उठाउनका लागि खासै भूमिका नखेलेको बताउनुभयो । विद्यार्थीको अभाव भएको केयूले ठुलो सङ्ख्यामा जिल्लाबाटै बिद्यार्थी भर्ना गर्न सक्ने अवस्था भएपनि त्यसो गर्न नसकेको बताउनुभयो । “विश्वविद्यालयले कर्पोरेट कल्चर भित्राउन खोजेको छ, विश्वविद्यालयले कर्पोरेट कल्चर भित्राउने हैन, यो शैक्षिक उन्नयनको केन्द्र, अनुसन्धानको केन्द्र, देशलाई चाहिने जनशक्ति उत्पादनको केन्द्र हो” उहाँले भन्नुभयो । उहाँले विश्वविद्यालयले आफुले सबैभन्दा दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयमध्येको एक विश्वविद्यालय मानिने भएपनि केयूले आफुले उत्पादन गरेको जनशक्ति किन स्वदेशमा टिक्न सकेन र त्यसलाई टिकाउनका लागि विश्वविद्यालयले कुनै अध्ययन गर्न नसकेको बताउनुभो ।
उहाँले विश्वविद्यालय सुरुदेखि नै स्थानीय समुदायसँग टाढिएको, आफुले गरेका सम्झौताहरु पालना नगरको बताउनुभयो । विश्वविद्यालयलाई बलियो बनाउनका लागि विश्वविद्यालयभित्र रहेका समस्या समाधानका लागि सबैले आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताउनुभयो । पूर्वमन्त्री बास्कोटाले विश्वविद्यालयभित्र रहेका तमाम समस्या समाधान गर्न सक्ने नेतृत्व आउनुपर्ने बताउनुभयो । बास्कोटाले केयू सार्वजनिक जग्गा लिनभन्दा पनि जग्गा खरिद गर्नेतर्फ मात्रै ध्यान दिने गरेको बताउनुभयो । केयूले जिल्लाको दिगो विकासका लागि खोज र अध्ययन अनुसन्धानका कुरामा जिल्लाका स्थानीय तहहरुसँग, जिल्ला समन्वय समिति, जिल्लाको आर्थिक, सांस्कृतिक योजनामा उसको बौद्धिक ज्ञानहरु प्रयोग गरेर जिल्लाले लाभ लिने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले केयूभित्रको आन्तरिक समस्याले गर्दा केयूमा पछिल्लो समय बिद्यार्थी खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा धुलिखेल जिल्ला समन्वय प्रमुख दिपककुमार गौतमले जिल्लाको समृद्धिको लागि आफ्नोतर्फबाट काठमाडौँ विश्वविद्यालयसँग समन्वयको काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जुले काठमाडौँ विश्वविद्यालयभित्र थुप्रै अपचलन र बेथिती रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयले कर्मचारीको दरबन्दी भन्दा बाहेक पनि लाखौँ रुपियाँको मासिक सेवा सुविधा दिएर सेवानिवृत भएका व्यक्तिहरु भर्ती गरेको बताउनुभयो । उहाँले विश्वविद्यायभित्र विश्वविद्यालयको ऐन, कानुन विपरित कर्मचारी भर्ना, सेवा, सुविधा दिने, आफ्ना आफन्तको भर्ती केन्द्रको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले केयुले जिल्लाका पालिकाहरूसमेत राम्रोसँग नचिनेको र सहकार्य गर्न नसकेको बताउनुभयो । कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल, कांग्रेस काभ्रेका सचिव माधव ढकाल, रास्वपा काभ्रेका सभापती प्रवीण ढकाल, राप्रपा काभ्रेका अध्यक्ष सहदेव भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बुद्धिजिवी परिषद काभ्रेका अध्यक्ष एवं काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाले पेश गर्नुभएको कार्यपत्रमा सरोकारवालाहरूले टिप्पणी प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका सभापती विनोद न्यौपानेले महासंघले सार्वजनिक सरोकारका विषयमा फोरम सुरु गरेको बताउँदै अब काभ्रेको समृद्धिमा केयूलाई कसरी जोड्न सकिन्छ भन्नेबारे बहस आयोजना गरिएको बताउनुभयो ।