सहकारी संघ र काभ्रेली सञ्चारकर्मीबीच अन्तर्क्रिया


मेचीकाली

बनेपा । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजनामा जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ। जिल्लामा सञ्चालित सहकारी संस्थाका गतिविधि, संघको भूमिका, वर्तमान अवस्था तथा सहकारी क्षेत्रका चुनौतीलगायतका विषयमा सञ्चारकर्मीहरूसँग छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो। संघका वरिष्ठ उपाध्यक्ष शान्ति लामा वाइवाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जिल्ला सहकारी संघका गतिविधि, हालसम्म भएका काम तथा आगामी कार्यक्रमका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँका अनुसार हाल काभ्रे जिल्लामा ६४६ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् भने तीमध्ये ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध छन्। जिल्लाका १३ वटै स्थानीय तहमा सहकारी संस्थाहरू सञ्चालनमा रहेको जानकारी उहाँले दिनुभयो।

प्रस्तुतीकरणका क्रममा सबैभन्दा धेरै सहकारी संस्था बनेपा नगरपालिकामा २०१ वटा रहेको जानकारी दिइएको थियो। सहकारी क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै श्रेष्ठले संघले हाल ऋण लगानी तथा बचतसम्बन्धी कार्य रोकिसकेको र सञ्चालनमा रहेका सेवा केन्द्रहरू पनि क्रमशः बन्द गर्दै लगिरहेको जानकारी गराउनुभयो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा, सुझाव तथा धारणा राखेका थिए। सहकारी संस्थाको पारदर्शिता, सुशासन, सदस्यको अधिकार, सहकारीको वर्तमान अवस्था तथा सञ्चारमाध्यमसँगको सम्बन्धलगायतका विषयमा पत्रकारहरूले प्रश्न तथा सुझाव दिएका थिए।

सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सञ्चारमाध्यम र सहकारी क्षेत्रबीच आवश्यक समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूले दिएका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा संघका गतिविधिलाई थप प्रभावकारी बनाउने बताउनुभयो।

अध्यक्ष श्रेष्ठले सञ्चारकर्मी तथा सहकारीकर्मीबीच अनुभव आदानप्रदानका लागि आवश्यक तालिम सञ्चालन गर्ने, असल शासनका अभ्यासहरूको आदानप्रदान गर्ने तथा संघका कामकारबाहीलाई थप पारदर्शी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। संस्थाको काममा कमजोरी वा गल्ती देखिएमा सञ्चारमाध्यम तथा सरोकारवालाबाट सुझाव प्राप्त गरी त्यसलाई सुधार गर्दै अघि बढ्ने उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले जिल्ला सहकारी संघले गर्दै आएका सकारात्मक कामहरूको महासंघले सञ्चारमाध्यममार्फत सकारात्मक प्रचार गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि सहकारी संघका सकारात्मक गतिविधिलाई सञ्चारमाध्यममार्फत प्रवाह गर्न महासंघको सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष ईश्वरी ओझाले जिल्ला सहकारी संघले गरेका कामहरू सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न शुभकामना दिनुभयो ।

नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले काभ्रे जिल्लाबाटै सहकारी अभियानको विकासमा महत्वपूर्ण योगदान भएको इतिहासलाई भुल्न नहुने बताउनुभयो। उहाँले पछिल्लो समय काभ्रेमा सहकारी ठगीका घटना पनि धेरै देखिएको भन्दै यस विषयमा सबै पक्ष सजग हुनुपर्नेमा जोड दिनुभयो। सञ्चारकर्मीहरूले सहकारी क्षेत्रका सकारात्मक गतिविधिसँगै सहकारी ठगी तथा अनियमितताका विषयमा पनि खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन नीतिगत रूपमा समेत धेरै विषयमा सुधार आवश्यक रहेको तिमल्सिनाले बताउनुभयो।

महासंघका अर्का पूर्व अध्यक्ष महेश पौडेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै सहकारी र सञ्चार क्षेत्रबीचको अन्तरक्रियाले दुवै पक्षलाई एक–अर्काका गतिविधि बुझ्न सहयोग पुग्ने धारणा राख्नुभयो। 

अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी संघ, सञ्चारमाध्यम र सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमले जिल्लाको सहकारी क्षेत्रलाई थप पारदर्शी, जवाफदेही र व्यवस्थित बनाउन सञ्चारमाध्यमको भूमिकालाई समेत थप स्पष्ट पारेको सहभागीहरूले बताएका छन्।


प्रतिक्रिया



थप समाचारहरु