चाँडै नेपाल भ्रमणमा आउने मोदीको वचन


मेचीकाली

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै नेपालको भ्रमण गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीको निमन्त्रणा पाएसँगै मोदीले नेपालका् भ्रमण गर्ने प्रतिवद्धता जनाएका हुन् । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले गएराती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन् । 

नयाँदिल्लीको सात लोककल्याणमार्गस्थित प्रधानमन्त्रीनिवासमा उनीहरूबीच आधा घण्टा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री राणाले मोदीलाई नेपालको राजकीय भ्रमण गर्न प्रधानमन्त्री केपी ओलीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेकी थिइन् । नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाएकी छन् । मोदीले भेटमा निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने बताए । 

यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोदीको शपथग्रहणमा जेठ अन्तिम साता दिल्ली जाँदा पहिलो भ्रमण नेपालमा गर्न मोदीलाई अनुरोध गरेका थिए । मोदीले त्यसवेला पनि सकारात्मक जवाफ दिएका थिए । परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबिच नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ । नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी भएको र नेपाल र भारतले बहुआयामिक तथा प्रगतिशील साझेदारी तथा निकट सभ्यताको सम्बन्ध साझा गर्ने भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । दुई देशको विकास साझेदारीमा निरन्तर गतिको प्रतीक्षामा रहेको उनले बताएका छन् । भेटवार्तामा सहभागी नेपाली कार्यवाहक राजदूतसुरेन्द्र थापाका अनुसार परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबिच नेपाल–भारत सम्बन्ध सुदृढका बहुआयामिक विषयमा कुराकानी भएको छ । समकक्षी एस जयशंकरको निमन्त्रणामा आइतबारदेखि भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा बहुआयामिक विविधताका विषयमा छलफल भएको बताइन् ।  


प्रतिक्रिया



थप समाचारहरु