काभ्रे–गृहमन्त्री ओमप्रकाश अर्याल काभ्रे आएर प्रतिनिधिसभा सदस्य निर्वाचन तथा निर्वाचनका लागि भइरहेको सुरक्षाको तयारीबारे सम्वन्धीत अधिकारी र सुरक्षा निकायसँग जानकारी लिएका छन् । आज साँझ जिल्लामा आएका गृहमन्त्री अर्यालले काभ्रेको शान्ति सुरक्षाको अवस्था, सुरक्षा चुनौती लगायतका विषयमा जानकारी लिए । उनी गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेसहित काभ्रे आएका थिए ।
काभ्रे जिल्लाको सुरक्षाको अवस्थाको जानकारी लिँदै गृहमन्त्री अर्यालले वर्तमान सरकार जनताको र निष्पक्ष सरकार भएकोले यो सरकारको कोहि कसैप्रति झुकाव नभएकोले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । ‘मन्त्रीज्यूले यस पटकको निर्वाचनलाई स्वच्छ बनाउन सरकारले आवश्यक सहयोग गर्ने र स्थानीय स्तरमा निर्वाचन खटिने कर्मचारीहरु त्यहि अनुसार खटाउन निर्देशन दिनुभएको छ’ प्रवक्ता काफ्लेले भने ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा प्रमुखसँगको बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनको तयारी, व्यवस्थापनको लागि वडा तहका व्यक्तिहरुलाई संलग्न गर्न सके निर्वाचनमा उहाँहरुको समेत अपनत्व हुने भएकोले निर्वाचनको बारेमा वडा तहका व्यक्तिसँग बैठक, छलफल गर्न र जानकारी लिन निर्देशन दिएका छन् ।
बैठकमा काभ्रेपलालाञ्चोकका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश प्रेमप्रसाद न्यौपानेले निर्वाचन आयोगका कार्यतालिका अनुसारको गतिविधिहरु अघि बढाएको बताए । यस्तै बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेको बताए । उनले जिल्लाको कुल मतदाता, मतदानस्थलको बारेमा जानकारी दिँदै मतदान जिल्लाको दुर्गम पालिकाहरु खानीखोला र महाभारत गाउँपालिकामा रहेको मतदान स्थलको अनुगमन गरिएको जानकारी दिएका थिए ।