रेणुकाको यात्रा : संविधानसभादेखि गाउँको सरकार प्रमुखसम्म


मेचीकाली

काभ्रे–१३ वटा पालिका रहेको काभ्रेमा एकमात्र पालिका प्रमुख बन्न सफल भएकी छन् चौरीदेउरालीकी रेणुका चौलागाईं । यसअघि संविधान सभा सदस्यको रुपमा परिचय बनाएकीकाभ्रेको चौरीदेउरालीकी–५ की रेणुका चौलागाँईको नाम अब गाउँपालिकाको अध्यक्षको रुपमा समेत परिचित हुने भएको छ । 

स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत काभ्रेको चौरीदेउराली गाउँपालिकामा गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष निर्वाचित भएसँगै उनको परिचय स्थानीय सरकारको प्रमुखको रुपमा स्थापित भएको छ । 

२०५० सालमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनमा आवद्ध भई विद्यार्थी राजनीतिबाट समाज परिवर्तनमा लागेकी चौलागाँई २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा काभ्रेबाट समानुपातिक सांसद बनिन् । यस पटकको स्थानीय तह निर्वाचनमा चौलागाँईले नेकपा एमालेका जिताराम लामालाई पराजित गर्दै काभ्रेमा एक मात्र महिला गाउँपालिका अध्यक्ष बन्न सफल भएकी छन् । उनले लामालाई ७६५ मतको फरकले पराजित गरिन् । चौलागाँईले छ हजार २२८ मत ल्याउनु भएको थियो भने लामाले पाँच हजार ४६२ मत प्राप्त गरे ।

गाउँपालिकाको अध्यक्षमा विजयी भएकी चौलागाँईले गाउँपालिकालाई भ्रष्ट्रचारमुक्त, जनतालाई अधिकार सम्पन्न बनाउनुको साथै जनताको आर्थिक अवस्थामा सुधार गर्न र गाउँपालिकामा सुशासन कायम गर्ने प्रतिवद्धता जनाएकी छन् । ‘महिलालाई उत्पादनसँग जोड्नुको साथै उहाँहरुलाई विभिन्न सीपमुलक तालिम प्रदानगर्ने, महिलामा राजनीतिक सचेतना बढाउने काम गर्नेछु’ चौलागाँईले भनिन् । आफ्नो कार्यकालमा गाउँपालिकाभित्र विभिन्न भौतिक पूर्वाधार निर्माणको कामका साथै सडक, बिजुली, ‘एक घर, एक धारा’ अन्र्तगत नागरिकलाई गुणस्तरीय खानेपानी, नागरिकलाई कृषिमा जोड्नुको साथै त्यसको बजारीकरणलाई समेत प्राथमिकता दिइने उनको भनाई छ ।

हालसम्म काभ्रेमा मुख्य पदहरु गाउँपालिका अध्यक्षमा एक, नगर उपप्रमुखमा दुई, गाउँपालिका उपाध्यक्षमा एक र एक जना वडा अध्यक्षमा महिला उम्मेदवार विजयी भएका  छन् । जिल्लाको बनेपा नगरपालिकाका उपप्रमुखमा बिमला दाहाल सापकोटा, पनौती नगरपालिकाको उपप्रमुखमा गिता बन्जारा, बेथानचोक गाउँपालिका उपाध्यक्षमा तारा राना र बनेपा नगरपालिका–८ को वडा अध्यक्षमा शुभलक्ष्मी मानन्धर निर्वाचित भएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु