काभ्रे कांग्रेसमा प्रतिशोधको राजनीति : मधु आचार्य, गणेश लामा र महेश खरेललाई पार्टीबाटै निकाल्न सिफारिस


मेचीकाली

बनेपा–नेपाली कांग्रेस काभ्रेले केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा काभ्रे क्षेत्र नं. २ का क्षेत्रीय सभापति महेश खरेललाई पार्टीको कुनै जिम्मेवारीमा नरहने गरी कार्बाही गर्न सिफारिस गरेको छ । 


आज बसेको जिल्ला समितिको बैठकले मंसिर ४ गते निर्वाचनमा अन्तर्घात गरेको भन्दै तीन जना नेतालाई कार्बाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । निर्वाचनमा कांग्रेसबाट क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पूर्वसभापति शिवप्रसाद हुमागाईं पराजित भएका थिए । जिल्ला सभापति तीर्थ लामा ३ मतको अन्तरले मात्रै क्षेत्र नं. १ (२) मा निर्वाचित भएका थिए । यी तीन नेताले आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्बाहीको सिफारिस गरिएको हो ।


बैठकले बागमति प्रदेशका महामन्त्रीसमेत रहेका प्रदेशसभामा हालै विजयी भएका नेता कन्चनचन्द्र वादे तथा बनेपा नगरसभापति महेश कर्माचार्यसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

यस्ता छन् आरोप :

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले निर्वाचन अभियानमा मत माग्न एक दिन पनि सहभागी नभएको र आफू प्रदेशभरको जिम्मेवारीमा रहेको भन्दै व्यस्त कार्यतालिका सुनाउँदै पार्टी र गठबन्धनको उम्मेदवारलाई मत नमागेको,  निकट रहेका वडा सभापति र वडा अध्यक्षहरुको बैठकनै बोलाएर गोकुल बाँस्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँडेको, धेरै पटक घरमा जाँदा पनि उम्मेदवारलाई भेट नदिएको, निकटका सबै कार्यकर्तालाई सके सुर्यमा नसके घण्टीमा मतदान गर्न आव्हान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ । 


केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा उपस्थित नभएको, आफु निकटका साथिहरुलाई सुर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रुपमा यो पटक सुर्यमा मतदान गरि चन्द्र लामालाई जिताउनु, अर्को पटक उसले मलाई सहयोग गर्छ भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भन्दै उजुरी परेको छ । 


प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको, क्षेत्रीय सभापतिको तर्फबाट मातहतको संगठनहरु वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र  वडा अध्यक्षका उम्मेदवार, नेता कार्यकर्ताहरु समेतलाई बोलाइ गोकुल बास्कोटालाई भोट हाल्न दबाब दिने र पैसा समेत बाँडेको भनी भन्दै उजुरी परेको छ । 

जब शिव हुमागाईं हार्छन् तब हुन्छ कार्बाही :

काभ्रे कांग्रेसमा प्रतिसोधको राजनीति अहिलेमात्रै भएको भने होइन ।


अहिले पार्टीबाट निकाल्न सिफारिस गरिएका कांग्रेसका केन्द्रीय सदस्य रहेका आचार्यमाथि २०७० सालको चुनावलगत्तै कार्बाहीको सिफारिस गरिएको थियो । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा हुमागाईं साविकको काभ्रे क्षेत्र नं. २ बाट निर्वाचनमा उम्मेदवार बनेका थिए । नेकपा एमालेका उम्मेदवार रामहरि सुवेदीसँग पराजित भएपछि प्रतिशोध साँध्दै नेता मधु आचार्यसहितका नेता कार्यकर्तामाथि कार्बाही गरेका थिए ।  पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तरघात गरी संविधानसभाको निर्वाचनमा पराजित गराउने काम गरेको आरोपमा त्यसबेला हुमागाईंले ५ जिल्लास्तरीय नेतामाथि कारबाही गरेका थिए । हुमागाईं उक्त समयमा नेपाली कांग्रेसको जिल्ला सभापति थिए । २०७० मंसिर १७ गते बसेको कांग्रेस जिल्ला समितिको बैठकबाट कारबाहीमा पर्नेमा पूर्व जिल्ला सभापति मधु आचार्य, पूर्व सहसभापति तीर्थ पसखल, पूर्व सभासद कमला थापा, महाधिवेशन प्रतिनिधि उद्धव कोइराला र शंकर मिजार थिए । उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कार्बाही गरिएको थियो ।


‘निर्वाचनमा काभ्रे २ मा कांग्रेस कुनै पनि हालतमा पराजित हुने क्षेत्र नहुँदानहुँदै पनि पार्टीका उम्मेदवारलाई पार्टीभित्रैका अवसरवादी र षड्यन्त्रकारीले अन्तरघात गरी पराजित गराएको,’ त्यसबेला जिल्ला समितिको निर्णय सार्वजनिक गर्दै तत्कालिन सभापति हुमागाईंले भनेका थिए ‘अन्तरघात गरेकाहरूलाई कारबाही गर्न प्रमाणसहित मातहतका समितिबाट सिफारिस गरिएपछि जिल्ला समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।’ कार्बाही कार्यान्वयनका लागि दबाब दिन हुमागाईं नेतृत्वको टोली कालो ब्यानरसहित कांग्रेस मुख्यालय सानेपामा धर्ना दिनसमेत पुगेको थियो । 


सोही बैठकले ६ जना क्रियाशिल सदस्यको सदस्यता खारेज गरी नविकरण नगर्ने निर्णय गरेको थियो । त्यसरी क्रियाशिल सदस्य खारेजीमा पर्नेहरुमा शंखुपाटीचौरका माधव थापा र दिपेन्द्र प्याकुरेल, साविक पनौती १३ का मोहन केसी, साविक पनौती ४ का सुभाषचन्द्र थापा, साविक पनौती १२ की जानुका भट्टराई र साविक मिल्चे ६ का गणेशवहादुर घ्यावा रहेका थिए ।


हुमागाईं नेतृत्वको जिल्ला समितिले कार्बाही गरे पनि पछि केन्द्रीय समितिले त्यसलाई उल्ट्याएको थियो । कांग्रेस काभ्रेमा शालिन र बैचारिक नेता मानिने आचार्य र हुमागाईंको अन्तरसंघर्ष लामो समयदेखि रहँदै आएको छ । आफू शक्तिमा रहँदा फरक मत राख्ने नेता कार्यकर्तालाई कार्बाही गर्ने र आफ्नो पक्षकालाई मात्रै काखी च्याप्ने गरेको भन्दै हुमागाईंको आलोचना हुँदै आएको छ । 

प्रतिक्रिया



थप समाचारहरु