न्यूयोर्कमा ओली–मोदी भेट


मेचीकाली

न्यूयोर्क–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयार्कमा भेटवार्ता भएको छ । न्युयोर्कको लोट्टे न्युयोर्क प्यालेसमा दुई देशका प्रधानमन्त्रीबीच आफ्नो देशको प्रतिनिधिमण्डलसहित भेटवार्ता भएको हो । 

भेटपछि मोदीले ओलीसँगका दुई तस्बिर साझा गर्दै भारत नेपाल सम्बन्ध घनीभूत रहेको र यस घनिष्टतालाई अझै गति दिने बताएका छन् । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित रहेर कुराकानी भएको मोदीले उल्लेख गरेका छन् । उक्त अवसरमा मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको भेटवार्तामा सहभागी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् । साथै, द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर तमाम समस्यालाई समाधान गर्ने सहमति पनि भएको बताइएको छ । बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको उल्लेख गरेका छन् । 

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राईको सहभागिता रहेको थियो । भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो । परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले दुई मुलुकबीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको जानकारी दिए । स्रोतका अनुसार प्रचण्ड प्रधानमन्त्री छँदा एक वर्षअघि भारतसँग भएको विद्युत व्यापार सम्झौताबारे भेटमा संक्षिप्तमा कुराकानी पनि भएको छ ।  

चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । यस अघि ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गरेरै मोदीसँग भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु

 

प्रधानमन्त्री ओली दोहामा